शुक्लागण्डकीका वडाध्यक्षहरु सहित साढे २ सय नेता तथा कार्यकर्ता एमालेमा

समाधान संवाददाता २०७८ चैत ११ गते २१:१०

पोखरा ।
नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका तनहुँका २ सय ५० नेता, कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शुक्ला गण्डकी ५ बेलचौतारामा भएको एमालेको निरन्तर घोषणा सभामा ती नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको नेकपा (एमाले) तनहुँ अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।


युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा एकीकृत समाजवादीका पार्टी जिल्ला कार्यालय सदस्य एवं शुक्ला गण्डकी नगर कमिटी सचिव कमल ढकाल, नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियु समाजवादी केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सचिव गोविन्द महत, शुक्ला नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष दीर्घबहादुर थापा एमालेमा फर्किएका छन् ।


पार्टी विभाजन भएपछि उनीहरुले नेकपा (एस)मा सनाखत गरेका थिए । नेकपा(एस) का नेताहरु क्षितिज थापा, रेशम सेन्चुरी, समाजवादीको अनेरास्ववियु तनहुँ अध्यक्ष सुमन श्रेष्ठ, मनोज बानियाँ, धीरज खत्री लगायत नेता तथा कार्यकर्तालाई नेकपा (एमाले)उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा पूर्व मन्त्री किरण गुरुङले पार्टीमा स्वागत गरे ।

Advertisement


पार्टी अध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका तनहुँ जिल्ला कमिटीका ६, शुक्ला गण्डकी नगर कमिटीका ६० मध्ये ४५, विद्यार्थी नेता गोविन्द महतको नेतृत्वमा अनेरास्ववियु समाजवादीको ४६ सदस्यीय पूरै जिल्ला कमिटी एमालेमा फर्केको दाबी गरे । नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य शिवबहादुर विकको नेतृत्वमा ४५ र नेपाली कांग्रेसबाट मुस्लिम समुदायका ३५ जना एमालेमा प्रवेश गरेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेकपा (एस)को शुक्ला गण्डकीको तीन वडा कमिटी एमालेमा समाहित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य भगवती न्यौपाने र सविता रसाइली, नेता कमल ढकाल, अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेल, वडा नम्बर ७ का अध्यक्ष दीर्घबहादुर थापा, विद्यार्थी नेता गोविन्द महत लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया