कृष्णराज घिमिरेको सम्झना

समाधान संवाददाता २०७८ चैत १३ गते १२:४९

पोखरा ।


निवृत्त शिक्षक समुदाय कास्कीले संस्थाको प्रथम कार्यसमितिका संस्थापक सदस्य कृष्णराज घिमिरेको निधनको अर्धवार्षिकीमा हालै स्मृति सभा आयोजना गरेको छ ।


स्वर्गीय घिमिरेको फोटोमा माल्यार्पण गरिँदै सुरु कार्यक्रममा घिमिरेका जेठा छोरा लेलिनराज घिमिरेले आफ्ना स्वर्गीय पिताको जीवनी प्रस्तुत गरे । कृष्णराजका भाइ नारायण घिमिरेले दाजुले शैक्षिक क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको चर्चा गर्दै एक कविता वाचन गरेका थिए ।

Advertisement


स्मृति सभाको अवसरमा नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तोयनाथ लामिछानेले कृष्णराज घिमिरे लगायत शैक्षिक क्षेत्रका अभियन्ताहरुको योगदानका कारणले नै वर्तमान समयमा हामी शिक्षकहरुले सुविधा प्राप्त गर्न सफल भएको कुरा स्मरण गराए ।

विशेष अवसरहरुमा उनीहरुको उचित सम्मान गर्नुपर्ने खाँचो लामिछानेले औंल्याए । लामिछानेले नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय कार्यसमितिले हालसम्म गरेका गतिविधिका बारेमा पनि चर्चा गरे ।

Advertisement


फणीन्द्रमोहन शर्मा, बुद्धिगिरी ‘विह्वल’, बुद्धि घिमिरे, द्रोणाचार्य पौडेल, रामचन्द्र पौडेल लगायतले स्वर्गीय घिमिरेले शिक्षा क्षेत्रका साथै सामाजिक क्षेत्रमा पुर्‍याएका योगदानको चर्चा गरे ।


निवृत्त शिक्षक समुदाय कास्कीको आयोजना तथा स्वर्गीय कृष्णराज घिमिरेका परिवारको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नम्बर ३० को शिशुवाचोक स्थित शान्ति आधारभूत विद्यालयमा सम्पन्न उक्त सभाको सञ्चालन सचिव शेषकान्त आचार्यले गरेका थिए ।

स्वर्गीय कृष्णराज घिमिरेकी धर्मपत्नी रुकविणा र छोरी विणा घिमिरे पौडेलको समेत उपस्थिति रहेको कार्यक्रमको समापन संस्थाका अध्यक्ष छविलाल आचार्यद्वारा लिखित सन्ततिहरुलाई आफ्ना बाबुको महत्व दर्शाउने एक कविता वाचनका साथमा गरिएको थियो ।

कास्कीको देउरालीका घिमिरेको ६ महिनाअघि निधन भएको थियो ।

तपाईको प्रतिक्रिया