अभिनेत्री दियालाई पुन समाजको झण्डा !

समाधान संवाददाता २०७८ चैत १७ गते २०:०३

पोखरा ।
सगरमाथा आरोहणको तयारीमा रहेकी गण्डकी प्रदेशकी चेली दिया पुनलाई बिहीबार पुन समाज नेपालले पोखरामा सम्मान गरेको छ । उसले दियालाई समाजको झण्डा हस्तान्तरण गरि शुभकामना प्रदान गरेको हो ।


अभिनेत्री दिया सगरमाथा आरोहणका लागि आउँदो साता सगरमाथा क्षेत्रको लुक्ला प्रस्थान गर्दैछिन् । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनले उनलाई पुन समाज नेपालको झण्डा हस्तान्तरण गरेका हुन् ।


त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुरसहित महासचिव खिमन शेर्पाजा पुन, समाजसेवीहरू क्याप्टेन बलु पाइजा पुन, नन्द गर्बुजा पुन, राजकुमारी गर्बुजा पुन र तिलक पूर्जा पुनलगायतले अभिनेत्री दियालाई आशीवार्द दिएका थिए ।

Advertisement


सगरमाथा आरोहणमार्फत् उनी समाजसेवा पनि गर्दैछिन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालको चिल्ड्रेन एण्ड युथ फाउण्डेशका लागि सहयोग संकलन गरिरहेकी छिन् ।


‘कोभिड–१९ का कारण धेरै नर्सहरूको मानसिक स्वास्थ्यमा समस्या पर्‍यो’, उनले भनिन्, ‘त्यसैले सहकर्मीहरूका लागि पनि केही गर्न चाहन्छु ।’ उनी बेलायतमा नर्सिङ पेशामा संलग्न छिन् ।

Advertisement


यस अघि उनले नेपालको मनास्लु र अर्जेटिनाको अकोनकागुवा हिमाल आरोहण गरिसकेकी छिन् । ‘हाम्री साहसिक चेली दियाको कामबाट गौरवान्वित भएका छौं’, काफलडाँडा, म्याग्दीका समाजसेवी चामबहादुर पुनले भने, ‘उनका हरेक पाइलाले सफलता चुम्दै जाउन् ।’


अभिनेत्री दियाले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’मा अभिनय गरिसकेकी छिन् । मनास्लु क्षेत्रको जनजीवनमा आधारित उनको पछिल्लो चलचित्र मन्त्र वैशाखदेखि हलमा लाग्दैछ ।

तपाईको प्रतिक्रिया