अल बिदा लीलाधर दाइ

झलक सुवेदी २०७८ चैत १९ गते २०:४८


झलक सुवेदी


यो वर्ष हाम्रो गाउँले आफ्ना महत्वपूर्ण अभिभावकहरु गुमायो । यस वर्षको आरम्भमा हाम्रो परिवारका अभिभावक खिमलाल सुवेदी दाइ बित्नु भयो । पोखराको नारायणस्थानमा आएर संस्कृत अध्ययन आरम्भ गरे पनि पारिवारिक कारणले पढाइ पूरा गर्न नपाउनु भएका उहाँ शिक्षाप्रेमी हुनुुहुन्थ्यो । आरम्भिक वर्षमा शिक्षकका रुपमा सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका खिमलाल दाइले पछिल्लो उमेर लेखापढी पेशामा रहेर बिताउनु भएको थियो । रोगले च्याप्दै लगेर गाउँ आउन–जान नसक्ने अवस्था नआउञ्जेल गाउँको अगुवाइ गर्नुभयो । विशेषगरी जनकल्याण मावि मकैखोलाको स्थापना र प्रगतिमा उहाँको योगदान सम्मानयोग्य छ ।


संस्कृत काव्य र पूर्वीय दर्शनका मामिलामा गाउँमा कसैलाई ज्ञान थियो भने त्यो खिमलाल दाइलाई मात्र थियो । सबैको भलो चाहने, आफ्नो संस्कृति र कुल, मर्यादाको निरन्तरता चाहने दाइ लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आउनु भएको थियो । ८४ पूजा गरेको ६ महिनामै बित्नु भयो । कोरोनाका कारण पूजामा पनि र मृत्यु संस्कारमा पनि आउन सकिएन, सँधै थकथक लागिरहनेछ । मैले कुल परम्परा विपरीत क्षेत्री परिवारमा वैवाहिक सम्बन्ध राखेकोमा सुरुमा असन्तुष्ट भए पनि उहाँले परिवारका बीच सहज र हार्दिकतापूर्ण सम्बन्ध रहोस् भनेर सधैं सकारात्मक भूमिका खेल्नुभएको थियो ।

Advertisement

रोहित काकापछि अहिले लीलाधर पनि बित्नुभयो । मलाई उहाँहरुको मृत्युसँगै आफ्नो पनि अलिकति मृत्यु भए जस्तो लागेको छ !


जनकल्याण माविमा २० वर्षसम्म प्रधानाध्यापकका रुपमा काम गरेर हामीलाई शिक्षाको उज्यालोतिर डोहोर्‍याउन र मकैखोलाको माविलाई त्यस वरपरको केन्द्रका रुपमा विकास गर्न स्थानीय समाजसेवीसँग काँध मिलाएर हिँडने हेडमास्टरका रुपमा परिचित राखीका रामचन्द्र ढुंगाना अर्का अभिभावक हुनुहुन्थ्यो । संयोगले नै भनौं भाइ उपेन्द्रको योजनामा मृत्युभन्दा २ साताअघि मात्र घरमा पुगेर उहाँलाई भेटेको थिएँ । हामीलाई भेटेर उहाँको अनुहारमा चमक आएको थियो । खुसी हुँदै पहिलेका कुरा गर्नुभयो । शिथिल र थकित देखिनुहुन्थ्यो । सर पनि गत महिना बित्नु भयो । टाढैबाट हाम्रो उन्नति र प्रगतिको कामना गरिरहेका यी अभिभावकको अभाव हामीलाई खट्किइरहनेछ ।

Advertisement


यही चैत महिनाको १३ गते हाम्रा अर्का अभिभावक लीलाधर सुवेदी सधैका लागि बिदा हुनुभयो । ८५ वर्षीर्य उहाँ केही महिनादेखि विस्तारै कमजोर बन्दै जानु भएको थियो । पछिल्लो समय दुई पटक भेट्न जाँदा उहाँ यति छिट्टै बित्नुहोला जस्तो चाहिँ लागेको थिएन । म उहाँसँग गाउँका कतिपय परम्परा, नाता, सम्बन्ध, पुर्खाका सम्बन्धमा केही नोट गर्ने सोच्दै थिएँ । आफैंले समय व्यवस्थापन नगर्दा पछुताउनुबाहेक विकल्प केही रहेन ।


१९९४ मा जन्मिनु भएका लीलाधर दाइका बा त्रिलोचन उहाँ १६ वर्ष पुग्दा नपुग्दै बित्नु भएको थियो । त्यसपछि आफ्ना २ बहिनी र पिताको मृत्युपछि जन्मेका भाइसहितको अभिभावक भएर किसानका रुपमा जीवनअघि बढाउनु भएको थियो । केही नेपाली साहित्य शिखरनाथ भाष्य, संस्कृतको देवीभागवत, लेखनाथ पौडेल (उहाँका आमापट्टिका ठूलाबा, मेरा हजुरबा) का केही साहित्यिक रचनाको पनि अध्ययन गर्नुभएको थियो । एक पटक पढेका कुरा सम्झने र कण्ठस्थ भन्न सक्ने खूबी थियो । थरगोत्र प्रवरावली कण्ठस्थ थियो । आफ्नो बारेमा बनाएको श्लोक सुनाउनुुुहुन्थ्योः


मेरो नाउँ त खास रुद्रमणि हो भन्छन लीलाधर सबै…।


विहेमा दुलाहापट्टि या दुलहीपट्टिबाट श्लोकमा संवाद गर्न अघि सर्नु हुन्थ्यो । मैले २ पटक त्यस्तो श्लोक संवाद सुन्ने अवसर पाएको थिएँ ।


उहाँको विहे मेरी आमाका आफ्नै माइलाबाकी छोरी अर्थात हाम्री सानिमासँग भएको थियो । हामीले जान्ने भएपछि हाम्रो परेली गोकर्ण स्यानाबा देवघाट झरेपछि लीलाधर दाइसँग मात्रै भयो । लामो समय परेली र आउजाउ हुँदा हामीलाई सबैभन्दा निकटका दाजुजस्तो लाग्थ्यो । पछि मात्र थाह भयो हामी चारपुस्ते रहेछौं । हाम्रा हजुरबाका बाउहरु दाजुभाइ रहेछन् । कृषि कर्ममा लिप्त हुनुहुन्थ्यो । भैंसी मोटाघाटा हुन्थे । दुहुनु सधैं भइरहन्थे । भैंसी र खेतीपातीका कारण घुम्न फिर्न नपाएको गुनासो सधैं हुन्थ्यो । अरुको भन्दा छिटो खेती लगाउन, गोडमेल गर्न, खनजोत गर्न हतार गर्नुहुन्थ्यो । मौका पाउँदा यता उता घुम्न निस्किहाल्ने बानी थियो । परिवारप्रतिको जिम्मेवारी जहिले पनि अरु कामभन्दा प्राथमिकतामा राख्नुहुन्थ्यो ।


देश दुनियाँको खैखबर राख्ने, रेडियोमा सुनेका समाचार बुझ्ने र त्यसबारे धारणा बनाउने, अरुलाई सुनाउँदै हिँड्ने । कुनै कुरामा विश्वास गरेपछि एकोहोरो लाग्ने बानी थियो । मैले मेरो उपन्यास आधा जून मा रहेको लाउरे पात्रको मुख्य चरित्र लीलाधार दाइबाटै लिएको हुँ । उहाँलाई राम्ररी चिन्ने र उपन्यास पढ्नेले लाउरे पात्रमा लीलाधार दाइको छाप पाउँछ ।


उहाँका २ छोरा र एउटी छोरी जन्मेका थिए । भाइ आनन्द र बहिनी चन्द्रकलामात्र अहिले बाँकी छन् । देवी भाइलाइ ७ वर्षको भएपछि २०३३ सालमा स्कुलबाट फर्कदा साथीहरुसँग पौडी खेल्न पसेका बेला बुम्ले खोलाले बगायो । खूब राम्रो र चञ्चले थियो । त्यसपछि जन्मेका २ भाइ पनि सानै उमेरमा बिते । परिवारमा निरन्तर शोक र सन्तापको स्थिति बनिरह्यो ।


२०४२ मा आनन्द आइए पढ्न पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । छिट्टै स्ववियु सदस्य बनाइए र पक्राउ खाइहाले । कलिलै उमेरमा २ वर्ष जति जेल बसे । ३ भाइ छोरा गुमाएर रहेको एउटा छोरो कलिलैमा जेल परेपछि राजनीतिक रुपमा कम सचेत परिवारका अभिभावकलाई पर्ने पीर र चिन्ताको के हिसाब हुनु ? त्यसमाथि जोरीपारीका वचन अनेक हुने नै भए । तैपनि उहाँहरुले त्यसलाई सहन गर्नुभयो ।


२०४३ को आखिरीमा भएको गाउँ पञ्चायतको चुनावमा मैले नै प्रेरित गरेर लीलाधर दाइलाई नेकपा मालेको योजनामा जनपक्षीय उम्मेद्वारका रुपमा उपप्रधानपञ्चमा खडा हुन मनाएँ । स्थानीय निर्वाचनका दाउपेचमा म पोख्त भइसकेकै थिइनँ । थोरै मतले उहाँ पराजित हुनुभयो । त्यसपछि उहाँ सँधै नेकपा माले र एमालेको पक्षमा मतदाता र शुभचिन्तकका रुपमा सक्रिय रहनु भयो । एमालेले उहाँलाई पार्टी सदस्यता दिएको रहेनछ अहिलेसम्म । मलाई मेरै आमाका बारेमा पनि एउटा अलिनो महसुस हुन्छ कि उहाँले पार्टीका नेता, कार्यकर्तालाई सेल्टर दिएर, खाना दिएर, भाँडा माझेर, सम्मान र माया दिएर सहयोग गर्दा, पार्टीका पक्षमा, आन्दोलनका पक्षमा श्लोक सुनाएर प्रचार गर्दा पनि कम्युनिस्ट पार्टीको सदस्यता दिइएको रहेनछ ।


०५४ सालको गविस निर्वाचनमा भाइ आनन्द (यहाँ लीलाधरलाई दाइ भन्ने मेरो बा तिरको पुस्ताको नाता, आनन्दलाई भाइ भन्ने चैं आमाहरुतिरको नाता) गाविस अध्यक्षमा अत्यधिक मत ल्याएर विजयी भए । सम्भवतः लीलाधर दाइ र भगवती सानिमाको जीवनमा सबैभन्दा खुसीको दिन त्यही थियो । त्यसअघि र पछि पनि त्यस्तो दिन सायदै उहाँहरुको जीवनमा आयो ।


वृद्धावस्थामा भने गाउँ र आफूले बनाएको थातथलो छाडेर छोराबुहारीसँगै बस्न खुदीतिर बसाई आउनु भयो । यहीँ रोगहरुसँग जुध्दै उहाँको जीवनलीला समाप्त भयो । उहाँको निधनले मलाई एउटा अभिभावक गुमाएको महसुस भएको छ । बितिसकेका यीनै खिमलाल दाइ, पद्मध्वज दाइ, लीलाधर दाइ, लेखनाथ पौडेल (भलाम), रामचन्द्र ढुंगाना मेरो चेतनाका आरम्भिक दिनका झिल्काहरु हुनुहुन्थ्यो । उहाँहरुबाट मैले जीवनका पाइला चाल्न केही सिकेको छु, प्रेरित भएको छु । पद्मध्वज दाइलाई मैले उपन्यास आधा जुन मा रोहित काकाका रुपमा धेरै हदसम्म चित्रित गरेको छु । अब रोहित काकापछि अहिले लाउरे (लीलाधर) पनि बित्नुभयो । मलाई उहाँहरुको मृत्युसँगै आफ्नो पनि अलिकति मृत्यु भए जस्तो लागेको छ !


लीलाधर दाइलाई हार्दिक श्रद्धाञ्जली !


भगवती सानिमा, आनन्द भाइ, मीना बुहारी, चन्द्रकला बहिनी, पितृ दाइ, राधिका दिदीसहित परिवारका सम्पूर्ण सदस्यमा हार्दिक समवेदना !

झलक सुवेदी

सुवेदी राजनीतिक विश्लेषक हुन् 

तपाईको प्रतिक्रिया