अहिले हँसिया, हथौडामा पछि रुखमा भोट कसरी माग्ने ?

समाधान संवाददाता २०७८ चैत २० गते १४:२७

पोखरा ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विचार नमिल्ने दलहरुबीचको गठबन्धनले आशातीत नतिजा नआउने बताएका छन् । कांग्रेस एक्लै चुनाव लड्नपर्छ भन्ने पक्षमा उभिँदै आएका नेता काइरालाले गठबन्धनको निर्णय भए पनि कार्यान्वयन हुनेमा आशंका गरे ।


अघिल्लो आम चुनावपछि देशमा ३६ लाख मतदाता थपिएको उल्लेख गर्दै उनले कांग्रेसले अभियान र तालमेलबीच समन्वय गर्न नसकेको संकेत गरे । उनले भने, ‘थपिएका मतदातालाई हँसिया हथौडामा भोट हाल भन्यौँ भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो । तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ ।’


स्थानीय चुनावमा अहिलेको सत्ता गठबन्धनले मूर्तरूप लिनेमा उनले शंका व्यक्त गरे । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुरलाई मात्र हेरेर पहिला जसले जितेको छ, उसैलाई दिने मोडालिटी प्रस्ताव गरेको उनको आरोप छ । उनले कांग्रेस ३ सय १९ पालिका दोस्रो र २ सय ६६ पालिकामा पहिलो पहिलो तथ्यांक पेश गर्दै ५ सय ८५ पालिका कांग्रेसलाई दिन माग गरे । कोइरालाले भने, ‘प्रस्तावअनुसारको पालिका दिन साँच्चै तयार हुनुहुन्छ ?’

Advertisement


प्रजातान्त्रिक विचार समाज कास्कीको नवौँ अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उनले सुशासन, पारदर्शिता र जावफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको उल्लेख गरे । आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तरसम्बन्धित रहेको जनाउँदै उनले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिए ।


देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उनले १८ खर्बको व्यापार घाटा गम्भीर मोड भएको औंल्याए । सरकार सञ्चालन र निर्वाचनको तालमेल फरक विषय भएको जिकिर गर्दै उनले तालमेलसँग जोडिएका धेरै विषय र त्यसले आगामी दिनमा पार्टी संगठनमा पार्ने प्रभावबारे गम्भीर समीक्षा जरुरी भएको विचार राखे ।

Advertisement


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, प्रजातान्त्रिक विचार समाजका केन्द्रय अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याल, पूर्वमन्त्रीद्वय यज्ञबहादुर थापा र महादेव गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, कास्की कांग्रेस सभापति किशोरदत्त बराल, प्रजातन्त्रवादी प्राध्यापक संघका कमलराज सापकोटा, ट्रेड युनियन कांग्रेस कास्की सभापति विजयराज भण्डारी, प्रजान्त्रिक विचार समाज कास्की अध्यक्ष प्राडा गिरीधारी शर्मा, उपाध्यक्ष डा वीरबहादुर कार्की, सचिव शिशुकला पराजुली लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया