पाेखरा महानगरमा निर्णायक ३९ हजार मत

सञ्जय रानाभाट २०७८ चैत २१ गते १०:४७

२०७४ का मतदाताः १,६८,०६८
थपिएका मतदाता ३९,६४५
अहिलेका मतदाताका २,०७,७१२


सञ्जय रानाभाट
पोखरा ।
आसन्न स्थानीय चुनाव नजिकिएसँगै राजनीति तातेको छ । नेता, कार्यकर्ता टिकट पाउने दौडधूपमा लागेका छन् । निर्वाचन जित्ने समीकरणको खोजी गर्दै दलहरु तीव्र दौडधुपमा छन् । सत्ता गठबन्धनले देशभरका ६ वटा महानगरपालिकामा केन्द्रबाटै टिकटको टुंगो लगाउने भएको छ । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ भन्ने यकीन छैन तर, प्रतिस्पर्धा भने एमालेसँग हुनेछ । एमालेले भने गठबन्धन मिलेर आए पनि पोखरा महानगरमा जित सुनिश्चित रहेको दाबी गरेको छ ।


पोखरा महानगरपालिकामा २०७४ सालको निर्वाचनमा मेयर उपमेयरसहित २२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । त्यस बेला मेयरमा एमालेका मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी बनेका थिए । उनले नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजारको मतान्तरले जितेका हुन् । कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए । त्यस पटक मेयरमा माओवादी र कांग्रेसको गठबन्धन थियो । उपमयेरमा पनि एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी थिइन् । उनले १२ हजार १ सय १० मत बढी ल्याएर कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेकी थिइन् । सरस्वतीले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् ।

Advertisement


अघिल्लो पटकको चुनावी नतिजामा निकै धेरै मतान्तर भएको हुँदा फेरि आफूले जित्ने दाबी एमालेको हो । तर, एमालेबाहेक मिलेर जाँदा आफूहरुले जित्ने गठबन्धनको जिकिर छ । त्यति बेलाको चुनावमा माओवादीकी उपमेयर उम्मेदवार गोमा ढकालले ८ हजार ७ सय ९६ मत ल्याएकी थिइन् । कांग्रेसका मेयर उम्मेदवार कुँवरको ४६ हजार ४ सयमा ढकाल अर्थात माओवादीले ल्याएको मत जोड्दा पनि एमालेका जिसीले ल्याएभन्दा ५ हजार मत कम हुन्छ ।


तर खास निर्णायक मत भने थपिएका नयाँ मतदाता हुन सक्छन् । पोखरा महानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनभन्दा ३९ हजार ६ सय ४५ मतदाता थपिएका छन् । २०७४ सालमा १ लाख ६८ हजार ६७ मतदाता थिए । चुनावमा भने १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । यसपटक भने पोखरा महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता पुगेको निर्वाचन कार्यालय पोखराले जनाएको छ । यसरी थपिएका मतदाता पोखराको नेतृत्व चुन्न निर्णायक हुन सक्ने देखिएको छ । ‘यो बीचमा थपिएका धेरै मतदाता जसले पनि एमालेलाई भोट दिने निश्चित छ,’ नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानले भने ।

Advertisement


कांग्रेसको दाबी पनि युवा मतदाताले आफ्नो पार्टीलाई रुचाउने खालका भएको भन्ने छ । कांग्रेस कास्की अध्यक्ष किशोरदत्त बराल, माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्य एमाले विरुद्ध गठबन्धन गरेर जाँदा महानगरमा जीत हाँसिल गर्न सकिने बताउँछन् । उनीहरुले गठबन्धनबाट साझा घोषणा पत्र लिएर जनतामाझ जाने बताएका छन् । यसरी जाँदा पोखरामा जीत हुने गठबन्धनका नेताहरुको दाबी छ ।


एमाले नेता न्यौपाने एमालेबाहेक अन्य दलले स्थायित्वका लागि काम गर्न नसक्ने भएकाले जनतामा फेरि पनि एमालेलाई जिताउनुपर्छ भन्ने धारणा भएको बताउँछन् । ‘जनतालाई समृद्धि, स्थायित्व एमाले बाहेक अरु दलले दिन सक्दैनन् । एमालेको साथमा जनता रहेकाले साना दल मिलेर चुनावमा जाँदा पनि एमाले बलियो छ,’ न्यौपानेले भने । उनले पछिल्लो पुस्ताको आकर्षण एमालेमा देखिएकाले नयाँ थपिएका मतदाता सबै एमालेको पक्षमा रहेको जिकिर गरे ।


गठबन्धनका नेताहरुले जुनसुकै पार्टीका नेताले टिकट पाए पनि सघाएर जाने प्रतिबद्धता गरेका छन् । कांग्रेस सभापति बराल सबैभन्दा ठूलो संगठन भएकाले कांग्रेस बलियो रहेको बताउँछन् । त्यसको आधारमा गठबन्धनबाट पनि कांग्रेसको उम्मेदवार हुनुपर्ने भनाइ शनिबार भएको कार्यक्रममा उनले राखेका थिए ।


माओवादी केन्द्रका नेता लामिछाने ५ वर्षअघि कांग्रेसलाई गुन लगाएकाले यस वर्ष आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताउँछन् । एकीकृत समाजवादी कास्की अध्यक्ष आचार्य आफूहरुले विद्रोह गरेर गठबन्धनलाई सहयोग गरेकाले पोखराको मेयर आफूहरुको भागमा पर्नुपर्ने तर्क गर्छन् । उनले आफ्नो पार्टीले टिकट पाए एमालेबाट भोट तान्न सक्ने दाबीसमेत सुनाए ।
गठबन्धनका ५ दलले पोखरा महानगरमा एउटै घोषणापत्र बनाएर जाने संकल्प गरिसकेका छन् । २०७४ सालको चुनावमा महानगरका ३३ मध्ये २२ वटा वडामा एमाले र ११ वटा वडामा कांग्रेसले जितेको थियो । कांग्रेस सभापति बराल भने अब २२ वडामा कांग्रेसले जित्ने दाबी गर्छन् ।


विगतको मतमा एमालेले कति मत जोगाउँछ र कति थप गर्छ भन्नेमा उसको दाबी निर्भर हुन्छ । तर, कांग्रेस सभापति बरालले गठबन्धन गरेर जाँदा ३३ वटै वटामा गठबन्धनले जित हात पार्ने भएकाले मिलेर जान लागिएको बताए । उनले आफ्नो पार्टी ठूलो भएकाले मेयरको टिकट कांग्रेसले पाउनुपर्ने जनाए ।


एमालेअघि उभिएको सबैभन्दा चुनौतीपूर्ण प्रश्न नै नेकपा (एस)ले काट्ने मत हो । उसको मत काटिनेमात्र होइन, त्यो गएर प्रतिस्पर्धी गठबन्धनमा थपिने सम्भावना पनि छ । नेकपा एसका कास्की अध्यक्ष आचार्यले आफ्नो पार्टीले टिकट पाएमा नेकपा एमालेका समर्थकहरुबाट पनि मत ल्याउन सक्ने दाबी गरेका छन् ।


यसपालिको चुनावमा लेखक गनेस पौडेलले पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । देशका विभिन्न पालिका र पोखराका विभिन्न वडामा समेत उनको अटेरी अभियानबाट उम्मेदवारी घोषणा भइसकेको छ ।


२०७४ मा स्वतन्त्र उम्मेदवार र अन्य दलले समेत मत प्राप्त गरेका थिए । मेयरमा एमाले र कांग्रेसबाहेक १४ दलले एकमुष्ठमा ६ हजार ७ सय ९ मत ल्याएका थिए । जुन मत निर्णायक हुन सक्छ । अघिल्लो पटक मेयरमा १६ जनाको उम्मेदवारी पर्दा यस पटक मेयरका लागि कति उम्मेदवारी पर्छ भन्नेमा पनिमा भर पर्ने नेताहरु बताउँछन् । एमाले र गठबन्धन सोझो प्रतिस्पर्धा भए पनि यही मतमध्ये बढी मत जसले तान्छ उसैले जित्न सक्ने अवस्था देखिएको छ । एमालेले भने माधव नेपालको पार्टी नेकपा एसमा गएभन्दा धेरै माओवादी र जनता समाजवादी पार्टीबाट भिœयाएको दाबी गरेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया