विन्दुवासिनी संस्कृत विद्यापीठको कौमोदकी लोकर्पण

समाधान संवाददाता २०७९ वैशाख २ गते १०:०९

पोखरा l
विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल ʿकौमोदकीʾ लोकार्पण गरिएको छ । जर्नल विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले मंगलबार सार्वजनिक गरेका हुन् । उनले विद्यापीठको वेबसाइटसमेत सुरुआत गरे ।


शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप ज्ञान विज्ञानको खोजीमा क्रियाशील रहेको बताए । विश्वविद्यालयका आङ्गिक विद्यापीठहरूले पौरस्त्य पाश्चात्य वाङ्मयको अध्ययन अध्यापनमा जोड दिइरहेको उनको भनाइ छ । विद्यापीठले समयको गतिसँगै अनुसन्धान विधालाई अघि बढाएको बताउँदै उनले यो अन्यका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।


पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशिलाई विद्वानहरूले युगानुकुल रुपमा व्यवहारोपयोगि बनाउँदै लैजानुपर्ने बताए । विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठको समग्र विकास र भइरहेका प्रगतिमाथि प्रकाश पार्दै अनुसन्धानको महत्वको बोध गरी यसको निरन्तरतामा विद्यापीठको अर्जुनदृष्टि रहेको बताए । उक्त अवसरमा जर्नलमा प्रकाशित लेखरचनाको प्राडा यामबहादुर पौडेल क्षेत्री, सहप्राडा लक्ष्मीशरण अधिकारी, सहप्राडा काशीनाथ कंडेल, डा. सवीन्द्रराज भण्डारी । डा. भोलानारायण रेग्मीले समीक्षा गरेका थिए ।

Advertisement


कार्यक्रममा सहप्राडा चूडामणि कँडेलले जर्नल प्रकाशन र वेबसाइड निर्माणका प्रयास र औचित्यमाथि प्रकाश पारे । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष सहप्रा आनन्दमणि रिजालले विद्यापीठले अनुसन्धानका क्षेत्रमा नयाँ फड्को मारेको बताए । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ एकाइ सभापति सहप्रा.अम्बिकाप्रसाद भट्टराई तथा अन्य वक्ताहरूले अनुसन्धानका व्यवहारिक र शास्त्रीय पक्षको सन्तुलनमा जोड दिदै प्राज्ञिक गतिविधि नै विद्यापीठको प्राण भएको धारणा राखे । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्राडा शालिग्राम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकाइका सदस्य उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया