मालपोत लेखनाथमा प्रभातफेरी

समाधान संवाददाता २०७९ वैशाख २ गते १४:३१

लेखनाथ l
लिखत रजिस्ट्रेसन पास गरी घरजग्गाको हक हस्तान्तरण प्रक्रियासुरु भएको सय वर्ष भएको छ । लिखत पारित भएको सतवार्षिकीको अवसरमा मालपोत कार्यालय लेखनाथले बिहीबार प्रभातफेरी एवं अन्तरक्रिया आयोजना गरेको छ । पोखरा २७ तालचोकबाट सुरु भएको प्रभातफेरी मालपोत कार्यालय लेखनाथ भण्डारढिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लिखत पारित गर्दा हुने करछली, बाटो र सरकारी एवं सार्वजनिक संरचनाको लगत कटृा लगायतका समस्यालाई व्यवस्थित गर्न महानगर तयार रहेको बताए ।


मेयर जिसीले आफ्नो सम्पत्ति एवं लगानीको सुरक्षाका विषयमा अब जनता पनि सचेत हुनुपर्नेमा जोड दिए । प्रविधिको अधिकतम उपयोग गरी छिटो, छरितो एवं ईमान्दारीतापूर्वक सेवा दिन कर्मचारीलाई उनले आग्रह गरे । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले राष्ट्रिय सम्पत्तिको संरक्षण एवं व्यवस्थापनका लागि कर्मचारी खटिने उल्लेख गरे । पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, नापी कार्यालय लेखनाथका प्रमुख रामकुमार बस्नेत , मालपोत अधिकृत प्रकाश पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।


कार्यक्रम मालपोत कार्यालय लेखनाथका अधिकृत नारायण ढकालको अध्यक्षतामा भएको थियो । सो अवसरमा कार्यालयले पोखरा ३२ मा रहेको राधाकृष्ण वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल तथा खाद्यान्न वितरण गरेको छ । भूमि व्यवस्था मन्त्रालयका अनुसार १९७९ वैशाख १ गते पहिलोपटक लिखत रजिस्ट्रेसन पास भएको थियो । यसको रेकर्ड मालपोत कार्यालय डिल्लीबजारमा सुरक्षित छ । ‘पहिलोपटक गरिएको लिखतमा बाँसको कलम बनाएर हातले अक्षर लेखिएको प्रस्ट देखिन्छ ।
विभागका अनुसार १९७९ वैशाख १ बाट राज्यले जग्गालाई क्रमशः व्यक्तिको निजी सम्पत्तिका रूपमा स्वीकार गर्दै आएको छ । जग्गाको प्रयोगकर्ताबाट कुत संकलन गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा हक हस्तान्तरण हुन सक्ने अवधारणा पनि त्यस बेलादेखि विकास भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया