कास्कीको मादी गापा प्रमुखमा उम्मेदवार खोज्दै कांग्रेस

समाधान संवाददाता २०७९ वैशाख ३ गते २०:४६

पोखरा ।
नेपाली कांग्रेस मादी गाउँपालिका समितिले उम्मेदवारका आकांक्षीलाई नाम लेख्न आइतबार डाकेको छ । पोखरामै भेला डाक्दै मादी कांग्रेस गाउँपालिका समिति सभापति यमबहादुर गुरुङले सूचना जारी गरेका छन् । उनले इच्छुक उम्मेदवारलाई तोकिएको ढाँचामा पार्टीभित्र नाम दर्ता गराउन शनिबार आह्वान गरेका हुन् ।


मादीमा गाउँपालिका प्रमुख कांग्रेसकै उम्मेदवार बनाउनेबारे गठबन्धनका साझेदार दलबिच सहमति नजिक पुगेको जानकारी गुरुङले दिए । ‘प्रमुख कांग्रेसकै उम्मेदवार हुने र उपप्रमुख माओवादी केन्द्रबाट हुने भन्ने सहमति नजिक पुगेको हुँदा नै प्रमुखको उम्मेदवार बन्न आकांक्षा राखेका साथीहरुलाई भेलामा उपस्थित हुन भनेका छौं,’ गुरुङले भने ।


वैशाख ४ गते आकांक्षी आफै उपस्थित भई नाम दर्ता गर्नुपर्ने गाउँपालिका कार्यसमिति सचिवालयले जानकारी दिएको छ । ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन गरिएको छ,’ समितिले निकालेको सूचनामा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया