कल्याणको सम्झनामा दोहोरी प्रतियोगिता

समाधान संवाददाता २०७९ जेठ ११ गते १७:३९

पोखरा ।
लोक स्रष्टा कल्याण शेरचनको ७५ औं जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरामा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ।

Advertisement

पोखरा सभागृहमा हुने स्वर्गीय शेरचनको प्रिय विधा लोकदोहोरी प्रतियोगिता भव्यता साथ सम्पन्न गर्न इन्द्रेणी सांस्कृतिक विकास केन्द्रले साथ दिने भएको छ । यसरी नै प्रतियोगिताका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान लगायतले सहकार्य गर्ने भएका छन् ।

करिब ३९ लाख खर्च लाग्ने कार्यक्रम गर्न ५५ लाख आम्दानी गरी बचत रकमबाट लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको शालिक बनाउने योजना रहेको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मोले जानकारी दिए ।
शेरचनको ७५ औं जयन्तीको अवसरमा हुने प्रतियोगिताको प्रचार प्रसारका लागि शेरचनको जन्मथलो मुस्ताङको इन्द्रेणी समूहसहितका साँस्कृतिक अभियानसमेत गरिने अध्यक्ष क्या. ह्योल्मोले बताए ।

प्रतियोगितालाईसफल बनाउन मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । यसका लागि प्रतिष्ठानले विभिन्न १० उपसमिति गठन गरेको प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए ।

यसअघि शेरचनको जयन्तीमा काठमाडौं र पोखरामा खुला मादल बादन प्रतियोगिता, सारंगी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया