अत्तो थापेका गण्डकीका मन्त्री आचार्य बर्खास्त हुनबाट जोगिए

आफ्नो सट्टा जसपाकै अर्की सांसद लामालाई मन्त्री बनाउन लागेको थाहा पाएपछि मात्रै मन्त्री आचार्य संसद गए

सञ्जय रानाभाट २०७९ जेठ ३० गते २०:२८

सञ्जय रानाभाट । पोखरा
आफ्नो मन्त्रालयलाई आउँदो आर्थिक वर्षमा थोरै बजेट दिन लागिएको भन्दै गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बार्गेनिङ गरेका छन् । उनले बजेट धेरै नदिए आफू सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नआउने धम्की दिएका थिए । सोमबार प्रदेश सभामा नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो ।

मुख्यमन्त्रीसँगको झोकमा मन्त्री आचार्यले सरकारले आगामी आर्थिक वर्ष ल्याउन लागेको बजेटको अंक सार्वजनिक गरिदिएका छन् ।


मन्त्री आचार्यले सदन बहिस्कार गर्दा नीति तथा कार्यक्रम पारित गर्न आवश्यक बहुमत नपुग्ने भने हुँदैनथ्यो । ५८ सदस्यीय प्रदेश सभामा हरिशरणसहित सत्तापक्षका ३१ सांसद छन् । उनी उपस्थित नहुँदा पनि बहुमत अर्थात ३० सांसद हुन्थे । तर मन्त्रीले नै सदन बहिस्कार गर्दा सरकारलाई नैतिक संकट भने हुन्थ्यो । यसअघि नीति तथा कार्यक्रममाथिको छलफल चलिरहँदा पनि मन्त्री आचार्यले एक दिन सदन बहिस्कार गरेका थिए ।

Advertisement


आफू नभए सरकार नैतिक संकटमा पर्ने अत्तो थाप्दै बजेटको बार्गेनिङ मन्त्री आचार्यले गरेपछि मुख्यमन्त्री पोखरेलले उनलाई बर्खास्त गर्ने तयारी गर्दै थिए । त्यसका लागि उनले आफ्नो पार्टी नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरिसकेका थिए । देउवाले मन्त्री हरिशरणको पार्टीका नेता डा बाबुराम भट्टराईसँग उनलाई बर्खास्त गर्न सहमति जुटाएको स्रोत बताउँछ । आफ्नो सट्टा जसपाकी अर्की सांसद धनमाया लामालाई मन्त्री बनाउन लागेपछि हरिशरण पछि हटेका हुन् । तर उनले गण्डकीको कुरा आफ्ना केन्द्रीय नेता भट्टराईसँग गरेको भन्दै मुख्यमन्त्री पोखरेलसँग रोष प्रकट गरेका छन् ।


मुख्यमन्त्रीसँगको त्यही झोकमा मन्त्री आचार्यले सरकारले आगामी आर्थिक वर्ष ल्याउन लागेको बजेटको अंक सार्वजनिक गरिदिएका छन् । जब कि बजेट अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्नुअघि सार्वजनिक गर्न मिल्दैन । बाहिर ल्याउनु आचारसंहिता विपरीत हो । गण्डकी सरकारले असार १ गते ल्याउन लागेको आर्थिक वर्ष २०७९÷८० को बजेट सरकारकै मन्त्री हरिशरण आचार्यले सोमबार पत्रकार सम्मेलन गरेर खुलासा गरे ।

Advertisement


आचार्यले प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले ३६ अर्बदेखि ४० अर्ब रुपैयाँको बजेट ल्याउन लागेको खुलासा गरेका हुन् । उनले चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट ६ देखि १० अर्ब बढ्ने बताए ।


‘मुख्यमन्त्री र अर्थमन्त्री मिलेर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ६ देखि १० अर्ब धेरैको ल्याउन लाग्नुुभएको छ,’ उनले भने, ‘बजेट बढ्दा पनि मेरो मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाउनुभएको छ ।’


आचार्यले आगमी आर्थिक वर्षमा मुख्यमन्त्री तथा अर्थमन्त्रीले आफ्नो मन्त्रालयको १ अर्ब ५२ करोड ५२ लाख अर्थात, चालु आर्थिक वर्ष भन्दा आगामी वर्ष ४०.२ प्रतिशत कम बजेट छुट्याएको बताए ।


‘चालु आर्थिक वर्षमा मेरो मन्त्रालयले ३ अर्ब ७६ करोड रुपैयाँको बजेट पाएको थियो । यति बेला प्रदेशको कुल बजेट ३० अर्बको थियो । तर, अहिले सरकारले ३६ देखि ४० अर्बको बजेट ल्याउन लाग्दा पनि मेरो मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको छ,’ मन्त्री आचार्यले भने, ‘बजेट तथा कार्यक्रममा समावेश भएका एक घर एक धारा, भुमिगत स्यालो तथा डिप ट्युबवेल सिँचाइ आोजना, उज्यालो गण्डकी प्रदेश सिँचाइ कार्यक्रम, चार्जिङ स्टेसन जडान गर्न क्रमागत योजनालाई यसबर्ष बजेट पुग्दैन । यसपटक यसरी अभद्र व्यवहार गरेर बजेट ल्याउन मिल्छ ?’


मन्त्री आचार्यले प्रदेशका बजट विगतको भन्दा बढे पनि आफ्नो मन्त्रालयमा भने क्रमागत योजनालाई पनि नपुग्ने बजेट बनाएर अर्थमन्त्रालयले सिलिङ पठाएको बताए । सोमबार प्रदेश सभाबाट पास भएको नीति तथा कार्यक्रमा पनि बाध्यताले पास गर्नुपरेको उनको भनाई छ । ‘अहिले हामी गण्डकी प्रदेशमा जसरी बसिरहेका छौं । अन्धभक्त भई कसैको गुणगान गाउन बसेका हैनौं । हामीलाई अक्षता पानी छर्कन समर्थन गरेका हैनौं । बजेट कर्मकाण्ड पूरा गर्न दिएजस्तो भयो,’ उनले भने, ‘साँच्चै बिरालो बाँधेर एउटा श्राद्ध गरेजस्तो भएको छ । त्यो नीति तथा कार्यक्रम हेर्दा नेपालको इतिहासमै पहिलोपटक मन्त्रीबाटै मन्त्रालयलाई भद्र अवज्ञा भएको छ ।’


मुख्यमन्त्री र अर्थमन्त्रीले लाजमर्दो तरिकाले बजेट वितरण गर्न लागेको उनले बताए । ‘जुन ढंगले बजेट निर्माणका एउटा प्रकृया अगाडि बढ्यो । यति धेरे लाजमर्दो, राजनीतिक घटनामा लज्जित हुने घटना भएको छ । मलाई भन्न गाह्रो भएको छ,’ मन्त्री आचार्यले भने ।


टाउको गनेर बजेट
गण्डकी सरकारले टाउको गनेर सांसदलाई पैसा दिन लागेको पनि ऊर्जा मन्त्री हरिशरण आचार्यले बताएका छन् । ‘सरकारको बजेट निर्माणको प्रक्रिया हेर्दाखेरी हरेक सांसदका टाउका गनेर ५ करोड दिने प्रक्रियामा छ,’ उनले भने, ‘यो कुन विधिमा लेखेका छ । यो सरासर गलत छ । लोकतन्त्रको पनि खिल्ली उडाइएको छ ।’
लोकतन्त्रको हिमायती भन्नेहरुले लोकतन्त्रको खिल्ली उडाएर बजेट निर्माणको प्रकृया अगाडि बढाइएको मन्त्री आचार्यको आरोप छ । कार्यकालको अन्तिममा आएर सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमार्फत गठबन्धनका सांसदलाई ५ करोड र प्रमुख प्रतिपक्ष दलका सांसदलाई १ करोड दिन लागेको चर्चा छ ।
कृष्णचन्द्र नेपाली पोखरेललको प्रदेश र संघको चुनाव केन्द्रित गरेर गठबन्धनका दललाई पैसा बढ्न लागेको चर्चा छ । गठबन्धनका ३१ सांसदलाई ५ करोड रुपैयाँका दरले एक अर्ब ५५ करोड र एमालेका २६ सांसदलाई ३० करोड रुपैयाँमात्रै दिन लागेको स्रोतले बताएको छ । मन्त्री आचार्यले यसरी कुनै लक्ष्य योजनाबिना सरकारले पैसा बाँड्न लागेको आरोप लगाएका हुन् ।
उनले गण्डकी प्रदेश सरकार जनताको इच्छा चाहना र भावना विपरीत अगाडि बढेको बताए । ‘खुद्रे विकासका गतितिर अगाडि बढेको संकेत देखिएको छ । नीति तथा कार्यक्रममा सन्तुलित होस् भन्ने अनि, यस्तो टाउका गनेपछि सन्तुलित विकास गर्न सम्भव छ,’ उनले प्रश्न गरे । प्रदेश सरकारले ढोकाबाट नभएर झ्यालबाट बजेट ल्याउन लागेको उनले आरोप लगाएका छन् । उनले प्रदेश सरकारको यस्तो गतिविधि प्रति घोर विरोध जनाएका हुन् । ‘ढोकाबाट ल्याइएको बजेट पादर्शि तरिकाले पास गर्नु मेरो जिम्मेवारी हो । झ्यालबाट ल्याइएका योजनाहरुलाई मैले त्यो पूरा गर्नुपर्छ छैन । कुनै पनि हालतमा कार्यान्वय गर्न पक्षमा छैन ।’
मुख्यमन्त्री पोखरेल र अर्थमन्त्रीले अर्बांै रुपैयाँ आफ्नो कार्यालयमा टाइप राखेको आरोप आचार्यले लगाए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया