गण्डकीमा प्रतिव्यक्ति आम्दानी १४३७ डलर

(गण्डकीमा ०.५ प्रतिशत घरमा बिजुली पुग्न बाँकी)

समाधान संवाददाता २०७९ असार १ गते १०:४२

पोखरा ।
गण्डकी प्रदेशमा प्रतिव्यक्ति आम्दानी १ हजार ४ सय ३७ अमेरिकी डलर पुगेको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले गण्डकीमा २०७८-७९मा प्रतिव्यक्ति आम्दानी त्यति पुगेको देखाएको हो । मुलुकभरको प्रतिव्यक्ति आय भने १ हजार ३ सय ७२ अमेरिकी डलर छ ।

गण्डकी प्रदेशमा हाल १४.९१ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि, २६.१ प्रतिशत जना मानवीय गरिबीको रेखामुनि र १४.२ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष २०७८-०७९ को चैत मसान्तरसम्म प्रदेशका ११ जिल्लामा १ खर्ब २८ अर्ब ९३ करोड निक्षेप संकलन भएको अर्थ मन्त्रालयले हालै आफ्नो वेबसाइडमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उक्त तथ्यांक छ । कास्कीमा ५०.५७ प्रतिशत निक्षेप संकलन हुने गरेको छ । सबैभन्दा कम मनाङमा भने ०.३१ प्रतिशत मात्र निक्षेप संकलन भएको छ ।

गण्डकी प्रदेशमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २०७८ पुस मसान्तसम्ममा ३ खर्ब ५० अर्ब ७४ करोड कर्जा लगानी भएको छ । उपभोग्य कर्जा सबैभन्दा धेरै २७.६ प्रतिशत, थोक बिक्रेता शीर्षकमा १७.९ प्रतिशत, कृषि तथा वन सम्बन्धीमा ८.३ प्रतिशत, निर्माण क्षेत्रमा ८ प्रतिशत, पर्यटन क्षेत्रमा ५.८ प्रतिशत कर्जा लगानी भएको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशका सबै पालिकाहरुमा बैंकको पहुँच पुगेको छ । ११ जिल्लामा २०७८ चैत मसान्तरसम्ममा क, ख र ग वर्ग गरी ८ सय १८ वटा बैंकका शाखाहरु रहेका उक्त तथ्यांकमा उल्लेख छ । क वर्गका ५ सय ९६, ख बर्गका १ सय ८७ र ग वर्गका ३५ वटा रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रदेशको प्रति शाखा औसतमा जनसंख्या ३ हजार ३१ जना तर नेपालको प्रति शाखा ४ हजार ६ सय ३२ जना छ । प्रदेशमा उत्पादन, उपभोक्ता, वित्तीय, बहुउद्देश्यश्यीय, र सेवा क्षेत्रमा गरी २ हजार ६ सय ६१ वटा सहकारी संस्थाहरु आबद्ध भएको अर्थ मन्त्रालयले जनाएको छ । प्रदेशका कबिर ४७ प्रतिशत जनसंख्या सहकारीमा आबद्ध भएको देखिन्छ । महिला आवद्ध ५७.५ प्रतिशत छ । प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आवश्यक भएकाले आर्थिक सर्वेक्षण गरिएको अर्थ सचिव बैकुण्ठप्रसाद अर्यालले बताए । प्रदेशका विभिन्न तथ्यांक र सम्भावनाको ठाउँहरु समेत सर्वेक्षणले पहिचान गरेको उनले जनाए ।

प्रदेशमा ३ लाख ७० हजार हेक्टर खेतीयोग्य जमिन भएकोमा २ लाख ७२ हजार हेक्टरमात्र सिँचाइयोग्य छ । हालसम्म १ लाख ३७ हजार ८ सय ५० हेक्टर जमिन सिँचाइ सुविधा पुगेको छ । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा विद्युत पहुच पुर्‍याउन बाँकी भएको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा विद्युत पहुँच पुर्‍याउन बाँकी रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

Advertisement

प्रदेशका ५ लाख ७७ हजार ६ सय ८२ घरधुरीमध्ये ९९.५ प्रतिशत अर्थात ५ लाख ७४ हजार ७ सय ९८ घर धुरीमा विद्युत जडान भएको प्रदेश सरकार स्थापनाको करिब साढे ४ वर्षमा १३.४८ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याएको सर्वेक्षणमा उल्लेख छ । नेपालको श्रमशक्ति सर्वेक्षण, २०७५ का अनुसार गण्डकी प्रदेशमा १८ लाख ६८ हजार काम गर्ने उमेर समूहका जनसंख्या छ । जसमध्ये पुरुष ७ लाख ७० हजार र महिला १० हजार ९८ हजार छन् । प्रदेशमा बेरोजगार दर ९ प्रतिशत छ । श्रम सहभागिता दर ३५.७ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशमा आधारभूत खानेपानीमा पहुँच पुगेको जनसंख्या ९३.७५ प्रतिशत छ । ४ सय २२ वठा सम्पन्न योजनाबाट ९३ हजार ८ सय १८ घरधुरीमा निजी धारा जडान भई ४ लाख ७१ हजार ६ सय ८२ जनसंख्या लाभान्वित भएको तथ्यांकमा उल्लेख छ । कोभिड १९ को महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुउथान हुँदै गर्दा रुस र युक्रेन युद्धका कारण पुनः विश्व अर्थतन्त्र संकुचित हुन गई विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको विषयसमेत सर्वेक्षणमा समेटिएको छ । डलरको मूल्यमा भएको बढोत्तरी र आपूर्ति शृंखलामा आएको परिवर्तनका कारण पेट्रेलियम पदार्थ र खाद्यवस्तुमा भएको मूल्यवृद्धिले विश्वका कम आय भएका मुलुकहरुमा थप सिर्जना भएको छ भने विश्व अर्थतन्त्र पुनः संकट उन्मुख हुने सर्वेक्षणले संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया