स्वतन्त्र उम्मेदवारको उभार, यथार्थ र भ्रम

समाधान संवाददाता २०७९ असार ५ गते १४:२१

हरि कार्की ।
स्थानीय तहको निर्वाचन भर्खरै सकियो ।
नयाँ मान्यता स्थापित गरेर चुनाव सकिएको छ । पूराना राजनीतिक दल र तीनका नेतादेखि वाक्क नागरिकले सही विकल्प पर्खेर बसेका थिए । चुनावमा ‘लौरो’ उठाएपनि जितिन्छ भन्ने घमण्डले फुलिएका नेताको ढाडमा नराम्रोसँग लौरो बजारिएको छ यसपालि । देशका ठूला पालिका प्रमुख नै स्वतन्त्रबाट उठेका उम्मेदवारले जिते । ठूला भनाउँदा दलका घमण्ड धुलिसात भयो । अब, सच्चिनुपर्छ है भन्ने चेत सायद अब तिनमा पसेको हुनुपर्छ ।

स्थानीय चुनाव त सकियो । लगत्तै संघ र प्रदेशको चुनाव आउँदै छ ।
स्थानीय चुनावमा देखिएको चमत्कारिक नतिजा संघ र प्रदेशको चुनावमा पनि आउला या के होला ? चुनाव केन्द्रित चर्चा चियागफ, चौतारोमा चल्न थालिसक्यो । स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको । उठ्ने तयारी गर्नेको । राजनीतिक दलका प्रतिनिधिको । चुनाव कसले जित्ला ? जोडघटाउ गर्न सुरु भई सकेको छ ।
स्वतन्त्रहरु देशैभरिबाट जुर्मुराएका छन् । राजनीतिक पार्टीको अकर्मण्यताविरुद्ध कडा रुपमा स्वतन्त्रहरु आगो ओकल्दै छन् ।

यो आगोले कता कता पोल्छ ? को को लाई पोल्ने हो ?
स्थानीय तह निर्वाचनको नतिजाले देखाइ सकेको छ । यो परालको आगो थिएन । भुसको आगो थियो । भित्रभित्रै चोरी खान पल्केका ढाडे बिरालो जस्ता राजनीतिक दलका नेता तथा कार्यकर्ताको निद हराम गरेको छ । अब फेरि, संघ र प्रदेशको चुनावमा स्वतन्त्रहरु चुनावी मैदानमा उत्रिने कुराल तिनीहरु पक्कै आत्तिएका छन् ।

अब चर्चा गरौं स्वतन्त्र उम्मेदवारी र यसको देशव्यापी उभारको ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै पोखराबाट गनेस पौडेलले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे । काठमाडौंमा बालेन शाहले उम्मेदवारी घोषणा गरि सकेका थिए ।
अन्त कतैबाट स्वतन्त्र उम्मेद्वारी घोषणा भएको थिएन ।
उम्मेदवारी घोषणा त भयो । धेरैले गम्भीर रुपमा लिएनन् । पत्याएनन् । ‘लौरो उठाए पनि चुनाव जितिन्छ’ भन्ने विद्यमान मानकबिच यस्तो अवस्था रहनु स्वभाविक पनि थियो । तर, पौडेलको उम्मेदवारीले कता कता नमिठो गरि चिमोटी रहेको भने पक्कै थियो ।

चुनाव घोषणा भएको मितिले चुनाव आउन जम्मा ३ महिना बाँकी ।
तीन महिनामा धेरै गर्न त सकिन्न । तर, मतदातामाँझ पुग्न सकिन्छ ।
चुनावमा जाने तयारी भई सकेपछि पोखरामा सानो टिम जुट्यो । विद्यमान राजनीति भन्दा फरक स्थानीय तहलाई दलीय भागबण्डा गरिनु हुन्न, राजनीति दलका मनोमानीविरुद्ध अटेर गरौं भन्दै हामी चुनावी मैदानमा उत्रियौं ।
गनेस पौडेलले चुनावी मैदानमा उत्रिएको घोषणा त गरे ।

Advertisement

यद्यपि, आफू मात्रै उठ्ने होइन । उनी देशैभरिबाट स्वतन्त्र उम्मेदवारहरु उठ्नुपर्छ भन्ने अडानमा थिए ।
चुनावमा जाने भई सकेपछि आवश्यक तयारी गर्ने, मतदाताको घर घरमा पुग्नु पर्ने थियो । अभियानकाबारे बुझाउनुपर्ने थियो । हाम्रो सानो टिमले चुनावमा कसरी जान सकिन्छ ? आफ्नो गक्षले भ्याएसम्म गर्न कस्सियौं । त्यसै अनुसार गर्‍यौं पनि । म निर्वाचन प्रचारप्रसार संयोजकको भुमिकामा थिएँ । चुनावी प्रचार प्रसार हामीले सुरु गरि सकेका थियौं । उता राजनीतिक दलबाट कसलाई उम्मेदवार बनाउने ? गोलाप्रथा, भोटिङ हुँदै थियो । मेयर पद नगुमोस् भन्दै प्रधानमन्त्री कहाँ धर्ना दिने काम भर्ई रहेका थिए ।

हामीले देशभरि स्वतन्त्र उम्मेदवार उठ्न आह्वान गरि रहेका थियौं । आफ्ना भनाई सामाजिक सञ्जाल मार्फत दिई रहेका थियौं । एक, दुई गर्दागर्दै हामीसँग जोडिने साथीहरु बढी रहनु भएको थियो । मिडियाले पनि हामीलाई राम्रो स्पेस दिन थाले । हाम्रा कुरा अझै ठूलो पंक्तिमा पुग्दै थियो । चुनावलाई लिएर हामी उत्साहीत थियौं । शुभेच्छा राखेर भेट्न आउने । अभियानबारे बुझ्नेहरुको कुनै कमि रहेन ।

Advertisement

पोखरा महानगरपालिकामा पनि एक पछि अर्को गर्दै वडावडाबाट स्वतन्त्र उम्मेदवारी दिनेको संख्या थपिदै आयो । महानगरप्रमुख सहित १७ जनाले पोखरा महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिनु चानचुने पक्कै थिएन । हाम्रो अभियानलाई माया गरेर, अभियानसँग जोडिएका कुरा सुन्न, बुझ्न वडावडाबाट स्तस्फुर्त निम्तो आए । हाम्रो आह्वानमा देशभरबाट जति जनाले उम्मेदवारी घोषणा गर्नु भयो । के गर्ने ? कसो गर्ने ? नियमित सल्लाह लिने, दिने काम पनि भई रहेको थियो ।

समग्रमा चुनाव अघि नै हामीले जिति सकेका थियौं ।
हो, हामी मतदाताको घर घरमा पुग्न सकेनौं । त्यसमा हामी चुक्यौं । हामी कमजोरी रहित थिएनौं । तै पनि सानो टिमले पनि जति गर्न सक्यौं गर्‍यौं । जुझारु टिम, परिवर्तन चाहने युवा जोश भएका साथीहरुले विद्यमान राजनीतिक शक्तिलाई तर्सायौं । परिवर्तनको संवाहक बनेर देशभर उभार ल्यायौं नै । यसमा हामी सफल भयौं ।

भला, चुनावी नतिजाले पोखरामा गनेस पौडेलले चुनाव हार्‍यो भन्छ । तर, मलाई लाग्छ उनले चुनाव जिते । हो, उनी चुनावमा सफल भएनन् । सबैभन्दा पहिला चुनावी कार्ययोजना गनेस पौडेलले नै प्रस्तुत गरे । हो, सबैले चाहेको परिवर्तन थियो । तर, परिवर्तनका लागि आँट गर्न सकि रहेको अवस्था थिएन । कसैले आँट गर्न सकि रहेको अवस्था थिएन । त्यो आँट गनेस पौडेलले गरेर देखाइ दिए । उनको आँटमा ऐक्यबद्धता जनाउदै देशभरिबाट क्रमस उम्मेदवारी घोषणा भए ।

जनतालाई काम गर्छु भनेर गरिने बाचा कहिल्यै घोषणापत्र हुँदैन भन्ने मान्यता राख्ने पौडेलले चुनावी कार्ययोजना पत्र नाम दिए । कार्ययोजनामा यस्ता मास्टर्स पिस योजना थिए । जुन योजना यसअघि कहिल्यै आएका छैनन् । काठमाठाडौं, धरान, धनगढी लगायत देशभरका ३ सय ८४ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेका छन् । यो जित स्वतन्त्र नागरिकहरुको जित हो । दलिय अकर्मण्यताविरुद्धको जित हो ।

पोखराबाट सुरु भएको अभियानले यति विराट रुप लिन सक्ला भन्ने अनुमान कमैले गरेका थिए । उम्मेदवारी दिदै गर्दा, चुनावमा भलै अपेक्षित परिणाम आउन सकेन । परिवर्तनको शंख फुकेको स्थान पोखरा हो । गनेस पौडेलले शंखघोष गरेका हुन् ।
व्यवस्था परिवर्तनका लागि धेरै ठूला आन्दोलन भई सके । अब फेरि उही आन्दोलनमा भुल्नु जरुरी छैन । हामीलाई त अब अवस्था फेर्नु छ । दलीय हैकम फेर्नु छ । जनताले चुनेर पठाएका जनप्रतिनिधि नै राजाको शैलीमा उत्रिए । जसले भोट दिएर शासन गर्ने ठाउँ दिए, उनैलाई मान्छे गनेन् । र, त नागरिकहरुले आत्मसम्मानका लागि जुट्नु पर्‍यो । आत्मसम्मानका लागि जुट्ने नागरिकको समुहले अझ ठूलो विराट रुप लिन खोजि रहेको छ । लिन्छ ।

अहिले काठमाडौं, धरान र धनगढीको उदाहरण हेरेर धेरैले आफ्नो ठाउँमा पनि यस्ता जुझारु नेतृत्व आउनुपर्छ भनि रहेका छन् । स्वतन्त्रले जित्नुपर्छ भनि रहेका छन् । हो, स्रोत साधन हात लिएर राज्यको सम्पति दोहन गर्न पल्केका मुख्य शक्ति भनिएका राजनीतिक दलदेखि वाक्क नागरिकले निरन्तर विकल्प खोजी रहेका थिए । त्यही विकल्पका रुपमा अहिले स्वतन्त्र उम्मेदवारहरु आएका छन् ।

विद्यमान शक्तिविरुद्ध तिनीहरुले एक्लै लड्ने शाहस गरि रहेका छन् । त्यो आँट सिर्जना गर्ने काम भने गनेस पौडेले गरेका हुन् । अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने, यो विशाल अभियानको नेतृत्व लिने, जस लिने पंक्ति बढी रहेको छ । तर, सत्य के हो भने यसको थालनी गर्ने गनेस पौडेल हुन् । स्वतन्त्र उम्मेदवारीको यो उभारको अपनत्व अमुक व्यक्तिले लिन खोजि रहेका छन् । सत्य यो होइन । यसको सुरुआत गनेस पौडेलबाट भयो । पोखराबाट भयो । अरु कसैले गरेको होइन, सुरुआत गनेस पौडेलले नै गरेका हुन् । अहिले आएर कसैले यसको अपनत्व लिन्छु भनेर पाउँदैन ।

जसले देशभरका नौजवान जुर्मुराउने बनाए, उसैले पाउनुपर्छ । कसैले लिन खोज्छ भने यसमा हामी घोर आपत्ति छ । पोखराबाट गनेस पौडेलले सुरु गरेको अभियान आगोको झिल्काको रुपमा सल्किएको छ । अब संघ र प्रदेश सभाको चुनावमा झनै दन्किने छ । कसैलाई भ्रममा पार्न नखोजियोस् । अभियानको सुरुआत गनेस पौडेलले गरे । पोखराले गर्‍यो । पोखरापछि परिवर्तनको पक्षधर यसमा जुट्दै आयौं । जुटि रहने छौं । इतिहास तोडमोड गर्ने छुट कसैले पाउदैन ।

तपाईको प्रतिक्रिया