योग दिवसमा प्रवचन

समाधान संवाददाता २०७९ असार ७ गते १३:५५

पोखरा ।
‘मानवताका लागि योग’ भन्ने नाराका साथ आठौं विश्व योग दिवस मनाउन लागिएको छ । सो अवसरमा जीवन विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशले मंगलबार योग र ध्यानको विज्ञान र प्रयोग विषयक प्रवचन गर्न लागेको हो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिसँगको सहकार्यमा प्रतिष्ठानले योग ध्यान शिविर गर्न लागेको प्रदेश संयोजक शंकर पोखरेलले जानकारी दिए । उनले कार्यक्रममा मानव जीवनका संस्थापक एलपी भानु शर्मा, मनोक्रान्ति अभियानका संस्थापक डा योगी विकाशानन्द र काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका संस्थापक चैतन्य कृष्णले योग र ध्यानको विषयमा प्रवचन दिने जानकारी दिए ।

शिविरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पोखराका मेयर धनराज आचार्यसमेत सहभागी हुने छन् । पोखरेलले सबै आध्यात्मिक संघ, संस्थाको समन्वयमा शिविर हुने जनाए । ‘योगले मानसिक रुपमा स्वास्थ बनाउन सहयोग पुग्छ,’ उनले भने, ‘जीवन विज्ञानबाट विश्वमा ८ लाखले प्रत्यक्ष लाभ लिएका छन् ।’ पोखरेलले विद्यालयमार्फत युवा र विद्यार्थीलाई केन्द्रीत गरी कार्यक्रम गरेको बताए ।

Advertisement

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले योग र ध्यानमार्फत मानव जीवनलाई स्वस्थ र सार्थक बनाउन सकिने औंल्याए । जीवन विज्ञान प्रतिष्ठानले विन्ध्यवासिनी धार्मिक क्षेत्र परिसरमा हरेक दिन बिहान योग ध्यान शिविर गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया