सम्पादकीय: समृद्धिको जगमा भ्वाङ !

समाधान संवाददाता २०७९ असार १४ गते १२:००

सर्वसाधारणका घर हुन् कि सरकारी कार्यालय जमिनमै बन्ने हुन् । विकास, निर्माणका पूर्वाधार पनि जमिनमै बन्छन् । नेपाल जस्तो देशमा जमिन नै सबैभन्दा ठूलो सम्पत्ति स्रोत हो । पहिलेको कृषिप्रधान अर्थतन्त्र होस् कि अहिलेको संकटमा पुगेको अर्थतन्त्र, जमिन नै सबैभन्दा ठूलो अर्थको स्रोत हो हाम्रालागि । केही दिन जग्गाको कित्ताकाट रोकिँदा वा जग्गामा लगानीमा कडाइ हुँदा बजारमा संकट आइहाल्छ । भूभाग वा जमिनबिना देशको कल्पना हुँदैन ।

यस्तो जमिन नै कमजोर भए विकास, समृद्धि वा अग्रगमनको यात्रा के होला ? पोखरा महानगर क्षेत्रको जमिन भने निकै कमजोर छ । यहाँ बर्सेनि जमिन भास्सिने, भ्वाङ पर्ने भइरहन्छ । न समस्याको वैज्ञानिक अध्ययन हुन्छ, न समाधानका उपाय खोजिन्छन् । टालटुले तवरले खाल्डा पुरिन्छन् । धस्सिएको जमिन उकासिन्छन् । अनि, त्यही जमिनमाथि बन्छन्, विकासका पूर्वाधार र ठूला ठूला महल । यसले हाम्रो समृद्धिको जगमा भ्वाङ रहेको प्रष्ट हुन्छ ।

ठूलो पानी पर्नेबित्तिकै पोखराका सडक र जमिनमा भ्वाङ पर्छन् । अर्मलाको जमिन भास्सिएको पोखरेली भुलिसकेका छन् । महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, छोरेपाटन लगायतका क्षेत्रमा जमिन भ्वाङ पर्छ पर्ने, भासिने गरेको देखिन्छ । पोखराको भौगर्भिक बनोटकै कारणले यस्तो भएको विज्ञहरु बताउँछन् । हजार वर्षभन्दा पहिले आएको बाढीले ल्याएका ढुंगा, माटो, गेग्य्रान लगायत थुप्रिएर पोखरा उपत्यका बनेको उनीहरुको मत छ । यहाँको जमिनमुनि चट्टानसँगै चुन माटो पनि छ । पानी पसेपछि त्यो चुन पग्लिने र जमिन भास्सिने गरेको छ ।

Advertisement

पोखराका विभिन्न ठाउँमा रहेका दर्जनौं गुफा, निकै गहिरिएर बगेको सेती नदी, ठाउँ ठाउँका ताल र भारी वर्षा हुने प्रवृत्तिले यहाँको भौगोलिक अवस्था निकै जोखिमपूर्ण रहेको प्रमाणित हुन्छ । बेला बेला गुडिरहेका गाडी सडकमै भास्सिनु पनि यहाँका लागि नौलो होइन । यसपालिको वर्षाले सूइखेतमा घरहरु डुबानमा परे । ढलको राम्रो प्रबन्ध नरहेको पोखराका ठाउँ ठाउँमा प्राकृतिक पानीको बहाब उपेक्षा गरी बस्ती विकास भइरहेको देखिन्छ । धेरै ठाउँमा आकासे पानीको निकासका लागि ठाउँ राखिएको छैन । वर्षातको पानीको उचित निकास दिन नसक्ने हो भने बर्सेनि क्षति व्यहोर्नु पर्छ ।

त्यो क्षति बढ्दै जाने अध्ययनहरुले देखाएका छन् । अहिले पोखरा गण्डकी प्रदेशको राजधानी बनेको छ । देशकै प्रमुख पर्यटकीय नगर देशकै सबैभन्दा ठूलो महानगरसमेत हो । यहाँ अन्तर्राष्ट्रि विमानस्थल बन्दै छ, अन्तर्राष्ट्रिय सहर अनुरुपका संरचनाहरु बनाइँदै छन् । सबै संरचनाको जगमा पर्न सक्ने भ्वाङ वा जोखिमलाई भने नजरअन्दाज गरिएको छ । जसरी भ्वाङमाथि महल बन्न सक्दैन, त्यसैगरी जोखिममाथि बनाइने संरचना र विकास दीर्घकालीन नहुने त छँदै छ, यसले भविष्यमा ठूलै आर्थिक र मानवीय क्षतिसमेत गर्न सक्छ ।

Advertisement

तपाईको प्रतिक्रिया