सम्पादकीय: धान दिवसको सार्थकता

समाधान संवाददाता २०७९ असार १६ गते ११:५८

बुधबार देशैभर राष्ट्रिय धान दिवस बनाइएको छ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत छ । धान कुटेर तयार पारिने चिउरा र किसानले नै उत्पादन गर्ने दही मिलाएर खाने यो एउटा मौलिक संस्कृति पनि हो । पोखरामा पनि बुधबार रोपाई महोत्सव भएको छ । देशैभर रोपाईको चटारो छ अहिले । यस्तो समयमा किसानले मल पाएका छैनन् । कतिपय ठाउँमा खेतालाकै अभाव देखिएको छ ।

०६१ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका बेला उत्पादकत्व बढाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । देशको प्रमुख बाली धानीको उत्पादन बढ्नु वा घट्नुमा नेपालका लागि ठूलो अर्थ छ । निर्वाहमुखी कृषि हट्दै जानु र व्यवसायिक कृषिको जग नबस्नु हाम्रा लागि चुनौती हो । यो चुनौती सामना गर्ने खालको नीति अहिलेको आवश्यकता हो ।

संसारका झण्डै चार अर्ब जनसंख्याको आधारभूत खाद्यान्न चामल हो । अहिले पनि ६० प्रतिशतभन्दा बढी नेपाली कृषिमा निर्भर छन् । त्यसको ठूलो हिस्सा धानबालीमा निर्भर देखिन्छ । तराई क्षेत्रमा उत्पादन हुने धान बालीले पहाडी र हिमाली क्षेत्रलाई समेत धान्दै आएको छ । पछिल्लो समय नेपालीले मसिनो चामल बढी प्रयोग गर्ने र नेपालमा मोटो चामल बढी उत्पादन हुने भएकाले पनि आयात दर बढेको देखिन्छ । सरोकारवालाको उचित ध्यान नपुग्दा धानको उत्पादन बढ्नुको साटो घटिरहेको छ ।

Advertisement

धान खेतमा कंक्रिटका भवन र गाउँतिरका खेता बाँझै हुन थालेका छन् । कृषिमा आकर्षण नबढ्दा धेरै किसान वैदेशिक रोजगारीमा जान बाध्य छन् । केही किसान गाउँको खेतपाती छाडेर मजदूरी गर्न सहरी क्षेत्रमा गएका छन् । सिंचाई सुविधा नहुँदा ठूलो संख्यामा किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छँदै छ । बीउको समस्या पनि त्यस्तै छ भने धानबालीमा लाग्ने विभिन्न कीरा र रोग नियन्त्रणका लागि पनि प्रभावकारी उपाय खोज्न सकिएको छैन ।

यो समस्या समाधानका लागि मूल रुपमा सबै तहका सरकार गम्भीर हुनै पर्छ । किसानलाई सिंचाई, मल, बीउ, प्राविधिक सहयोग, प्रविधि आदिको प्रबन्ध सरकारले नै मिलाइदिनुपर्छ । किसानलाई ढुक्क भएर कृषि क्षेत्रमा लाग्ने वातावरण बनाउनुपर्छ । कृषिमा रहेका समस्या सम्बोधन गरी धानसहित सबै खालका कृषि उत्पादन बढाउने वातावरण तयार हुनुपर्छ । धान दिवसका दिन बिउँको माला लगाएर फोटो खिचाउँदै सामाजिक सञ्जालमा राख्दैमा धन उत्पादन बढ्दैन ।

Advertisement

तपाईको प्रतिक्रिया