सातौं इक्यान शैक्षिक मेला सुरु

स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श

समाधान संवाददाता २०७९ असार २४ गते १९:४९

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ सुरु भएको छ । पोखरा सभागृहमा शुक्रबार सुरु मेला शनिबार पनि चल्नेछ । नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन मेला गरिएको इक्यान कास्कीले जनाएको छ ।


इक्यान शैक्षिक मेलाको पहिलो दिन मेला अवलोकन तथा परामर्शका लागि विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको प्रचार संयोजक कमलनाथ बरालले जानकारी दिए । उनले शनिबार मेलामा विद्यार्थी तथा अभिभावकको संख्या अझै बढ्ने विश्वास रहेको सुनाए ।


मेलामा नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन आयोजना गरिएको मेलामा विदेशमा पढाइ हुने कोर्स, विभिन्न देशको भिसा नीति, त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति तथा सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँच लगायत विविध विषयमा आधिकारिक जानकारी दिइएको छ ।

Advertisement


मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी भएको मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका परामर्शदाताले करिब ४० स्टलबाट निशुल्क सूचना एवं परामर्श दिएका छन् ।


मेला उद्घाटन गर्दै पियरसन÷पिटीईका बिजनेस डेपलभमेन्ट कन्सल्टेन्ट सुमनकृष्ण श्रेष्ठले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको जिम्मेवार भूमिका प्रसंशनीय भएको बताए । उनले मेलाबाट धेरै भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

Advertisement


श्रेष्ठले ‘पीटीई’ (पियरसन टेस्ट अफ इंग्लिस) आप्रवासी र विदेशमा अध्ययन गर्न चाहनेका लागि एक विदेशी कम्प्युटरमा आधारित अंग्रेजी परीक्षा भएकाले ‘पीटीई’मा सहभागी हरेक विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउनुका साथै विदेशमा अवसरहरु सिर्जना गर्न सहयोग पु¥याउने आफूहरुको उद्देश्य रहेको जानकारी दिए । पोखरामा पनि छिट्टै नै ‘पीटीई’ सेन्टर खोल्ने तयारी रहेको जानकारी उनले दिए ।


इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई यस्ता खालका मेला निकै उपयोगी हुने बताए । ‘अहिले उच्च शिक्षा आर्जन गर्न नेपाली विद्यार्थीहरु विदेश जाने संख्या बढेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा एकै थलोबाट सबै खाले जानकारी उपलब्ध हुँदा विद्यार्थीले चौतर्फी भौतारिनुपर्दैन र सही परामर्श दाताबाट आधिकारिक सूचना पाउने उपयुक्त स्थान भनेको इक्यान मेला नै हो ।’


पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन प्रजापतिले मेलाको सफलताको कामना गर्दै उच्च शिक्षाका लागि सही मार्गनिर्देश गर्ने माध्यम शैक्षिक मेला भएकोले आगामी दिनमा पनि मेलालाई निरन्तरता दिन सुझाव दिए ।


भाषा संघ नेपालका अध्यक्ष पूर्ण न्यौपानेले शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर त्यहाँ सिकेको सीप उपयोग गर्न आग्रह गरे । मेलाको टाइटल स्पोन्सर इन्टरनेसनल कलेज अफ अप्लाइड साइन्सका म्यानेजिङ डाइरेक्टर समीर थापा मगरले यस्ता खालको शैक्षिक मेला नयाँ पिढीका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।


मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति, रहनसहन, वातावरण, समाज सम्बन्धित कलेजहरु तथा विश्वविद्यालयमा लाग्ने शिक्षण शुल्क, स्वास्थ्य बिमा, अध्यागमन शुल्क आदिबारे अद्यावाधिक र आधिकारिक परामर्श लिने थलोको रुपमा इक्यान शैक्षिक मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १० को वडा सदस्यमा निर्वाचित भएकोमा इक्यानका सदस्य पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो । इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सन्तोष शाहीले गरेका थिए ।


पियरसन (पिटीई) को प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सरमा इन्टरनेसनल कलेज अफ अप्लाइड साइन्स, एसोसियट स्पोन्सरमा रेन्सफोर्ड कलेज अस्ट्रेलिया, मुख्य प्रयोजकमा आइइडियु गु्रप अस्ट्रेलियालेसाथ दिएको छ । मेलाको सर्पोटेड बाईमा भिक्टोरियन एन्सिच्युड अफ एजुकेसन र ब्लु लोटस, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक र होटल पार्टनरमा कुटी रिर्साेट लेकसाइड छन् ।

तपाईको प्रतिक्रिया