पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको विजेतालाई १० लाखको ट्रफि

रिखिराम जिसी २०७९ असार २५ गते ८:४०

पोखरा ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटीको शुक्रबार काठमाडौंमा बसेको बैठकले आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी औपचारिक रुपमा सुरु भएको जनाएको हो ।

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछ न् । बैठकले यसै साताभित्र काठमाडौँ र पोखरामा सचिवालय खोल्ने निर्णय गरेको छ । बैठकले राखेप सदस्य सचिव टंकलाल घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गरेको हो । सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल आयोजना हुने प्रदेशको प्रदेश खेलकुदको प्रशासकीय प्रमुख, परिषद्का सदस्य मध्यबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा १ महिलासहित २ जना, परिषद्का विभागीय प्रमुखहरु र संयोजकले तोकको परिषद्को कर्मचारी समितिको सदस्य सचिव हुने छन् । निर्देशिकामा रहेका १४ वटा विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई बैठकले निर्देशन दिएको छ ।

प्रतियोगिताका लागि ६० करोड अर्थ मन्त्रालयबाट स्वीकृत भएको सदस्य सचिव घिसिङले बताए । बैठकले प्रशिक्षण सुरु गर्न सबै खेल संघलाई निर्देशनसमेत दिएको छ । विभागीय टोलीलाई तयारीका लागि ९ लाख रुपैयाँ र अन्य टोलीलाई तयारीका लागि ४९ लाख रुपैयाँ छुट्याइएको छ । खेलाडीलाई दैनिक २ हजार भत्ता दिने निर्णय बैठकले गरेको छ । प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षण ट्रफी प्रदान गरिनेछ ।

Advertisement

बैठक उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोभिड १९ का कारण निर्धारित मितिमै नवौं खेलकुद हुन नसकेको र अब रोकिनुपर्ने कुनै कारण नरहेको बतए । ‘केही वर्ष ढिला भएको छ । नवौं गराउन गण्डकी प्रदेश सरकारको पनि दायित्व हो,’ उनले भने, ‘गण्डकी प्रदेशमा केही पूर्वाधार बन्न बाँकी छ । त्यसलाई समयभित्र नै परिपूर्ति गर्नेछौं । सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु ।’

प्रतियोगिता २०७७ मै आयोजना गर्नुपर्ने भए पनि कोभिड र अन्य कारणले पटक पटक स्थगित भएको थियो । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना गर्ने प्रतियोगिता आगामी २८ देखि कात्तिक ३ गतेसम्म चल्नेछ । प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुनेछन् ।

Advertisement

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया