गण्डकीको गौरव बढाउन आग्रह

समाधान संवाददाता २०७९ असार २७ गते ११:५७

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीलाई उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् । काठमाडौंमा हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीलाई बिदाई गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले भने, ‘राष्ट्रपति रनिङ सिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरुले उच्च मनोबल र उत्साहका प्रस्तुत हुनेमा म विश्वस्त छु ।’ खेलकुदको विकासका लागि तीनै तहका सरकारले उत्तिकै महत्वपूर्णका साथ कार्यक्रमअघि बढाएको उनले बताए ।

गण्डकी प्रदेश खेलकुद परिषदका संरक्षकसमेत रहेका मुख्यमन्त्री पोखरेलले स्वस्थ र अनुशासित नागरिक उत्पादनका लागि समेत खेलकुद उत्तिकै महत्वपूर्ण रहेको औंल्याए । खेलाडीलाई थप हौसला दिँदै उनले भने, ‘भोलिको अन्तर्राष्ट्रिय खेलाडीको रुपमा समेत यहाँहरु नै अघि बढ्ने हो भने अर्कोतर्फ प्रदेशको होस् वा राष्ट्रको गौरव बढाउने काम भनेको नै यहाँहरु जस्तै खेलाडी र खेल क्षेत्रबाट सम्भव छ ।’

Advertisement

पोखरामा नवौं राष्ट्रिय खेलकुद हुने भएकाले यो प्रतियोगितामा प्राप्त हुने सफलतामा प्रदेशवाशीको सफलता र खेल जगतको सफलता गाँसिएको बताउँदै मुख्यमन्त्री पोखरेलको भनाइ छ । ‘सीमित स्रोत र साधानका बाबजुद खेलकुद परिषदले जसरी तयारी गरेको छ, यसका लागि म आभार व्यक्त गर्दछु,’ उनले भने । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय झण्डा र परिषदको लोगो अंकित झण्डा गण्डकी प्रदेशका टिम लिडर तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङलाई हस्तान्तरण गरे ।

काठमाडौमा सोबारदेखि बुधबारसम्म हुने राष्ट्रपति रनिङ सिल्डमा विभिन्न ६ खेलमा गण्डकीबाट ९४ जना खेलाडीले सभागिता जनाउने छन् । छात्र-छात्रा एथलेटिक्स भलिबल, कब्बडी, तेक्वान्दो, कराँते र उसुका खेलमा उनीहरु सहभागी हुने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया