बजेटमा मन्त्री-सांसदको हात, जगन्नाथ

रिखिराम जिसी २०७९ असार २८ गते १२:४४

पोखरा ।
गण्डकी प्रदेशकी सांसद धनमाया लामाले आफ्नो परिवारको सदस्यको नाममा बजेट छुट्याउन सफल भएकी छन् । प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफन्तको नाममा बजेट छुट्याएको भन्दै आलोचना भइरहेको अवस्थामा सत्ता साझेदारी दल जसपाकी सांसद लामाले आफ्नो जेठाजुको नाममा बजेट छुट्याएको भेटिएको हो ।

लामाले आफ्ना साहिँला जेठाजु भीमसेन पोखरेलको नाममा रहेको भीमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख रुपैयाँ विनियोजन गर्न सफल भएको पाइएको छ । उक्त प्रतिष्ठानका लागि प्रदेश सरकारबाट गत वर्ष पनि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । गोरखाको सिरानचोक गाउँपालिका ५ थुम्कामा युद्ध संग्रहालय स्थापना गर्ने शीर्षकमा १ करोड रुपैयाँ बजेट सिफारिस भएको थियो । तर त्यसको आधा विनियोजन भएको छ ।

जनस्तरमा विरोधपछि यसरी विनियोजन भएको बजेटलाई प्रदेशका प्राथमिकताको क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीको निर्देशन

Advertisement

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आमाबाका नाममा बजेट विनियोजन गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली(पोखरेल)ले आफ्ना बुबा गोबद्र्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका–१० मा स्थापित कोषलाई ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबा–आमाका नाममा स्थापित पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ र सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा उक्त बजेट हटाउन अर्थमन्त्रीलाई आग्रह गरिसकेका छन् ।

म्याग्दीका माओवादी सांसद विनोद केसीका दाइका नाममा म्याग्दीको बेनी नगरपालिका–७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि बजेट विनियोजन भएको छ । केसीको सिफारिसमा प्रदेश सरकारले १२ लाख रुपैयाँ विनियोजन गरेको हो । राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाको सिफारिसमा काठेखोला गाउँपालिका–४ मा रहेको जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ । सांसद थापा र हेमराज पुनको विवाहका सन्दर्भमा ०६६ मा स्थापना गरिएको सो कोषमा अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाउने नाममा सो रकम विनियोजन भएको हो ।

Advertisement

राजमो सांसद पियारी थापाको पारिवारिक रुपमा चलाइरहेको गाउँमैत्री अक्षकोष संस्थालाई ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको उक्त अक्षयकोषको अध्यक्ष पियारीकै श्रीमान हेमराज आश्रम हुन् । सचिव पियारीकी ठूलोबुवाकी छोरी सुकमाया पुन र उपाध्यक्ष सुकमायाका भेना चइन्द्रबहादुर थापा छन् । संस्थाको सल्लाहकारमा सांसद पियारी नै छिन् ।

कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ र नगरपालिका पूर्वउपप्रमुख सीता काफ्लेका दिवंगत पतिको नाममा स्थापित डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ । गण्डकीमा अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी जसपा विच गठबन्धनको सरकार छ । सत्ता पक्षमै विवाद हुँदा बजेट प्रस्तुत भएको करिब १ महिना हुन लागिसक्दा सम्म पास हुन सकेको छैन ।

जनस्तरबाट बजेटको आलोचना भएपछि मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री, मन्त्री र सांसदको आफन्तको नाममा विनियोजन बजेटलाई प्रदेशका प्राथमिकताको क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्री मन्त्रीहरुलाई निर्देशन दिएको जनाएका छन् । ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा बिनियोजन स्रोतहरुलाई प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्री ज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको व्यहोरा जानकारी गराइन्छ,’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया