लेखनाथका ४ सामुदायिक स्कुललाई बस

समाधान संवाददाता २०७९ असार २८ गते १३:२४

पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाइ समुदायिक विद्यालय बन्ने गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता गरेका छन् । पोखराको लेखनाथ क्षेत्रका ४ सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मेयर आचार्यले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था हेर्दा कास्कीबाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने तर पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्ने अवस्था आउनुका पछाडिको कारण खोजिने र सुधार गरिने उनले बताए ।

सामुदायिक विद्यालयमा आकर्षण ल्याउन किन सकिएन ? ठूलो लगानी भएका स्कुलमा विद्यार्थीको आकर्षण बढाउन महानगर के गर्नुपर्छ, त्यो गर्छ ।
धनराज आचार्य
मेयर, पोखरा

Advertisement


आचार्यले भारतमा ७/८ वर्षको अन्तरालमा सरकारी विद्यालयको गुणस्तरमा फड्को मारेको उदाहरण दिँदै पोखरामा पनि छिट्टै विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा समुदायिक विद्यालय पर्नेगरी सुधार गर्ने बताए । ‘देशभर कास्कीबाहेकको अवस्था हेर्ने हो भने ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन् । तर कास्की विशेषगरी पोखरामा हेर्ने हो भने ८५ प्रतिशत हाराहारीमा विद्यार्थी निजीमा जाने अवस्था छ । सामुदायिक विद्यालयमा आकर्षण ल्याउन किन सकिएन ?,’ उनी भन्छन्, ‘विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग बसेरै यस विषयमा कुरा गरौंला । ठूलो लगानी रहेको समुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन महानगर के गर्नुपर्छ, त्यो गर्छ ।’

उनले समुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको पहिलो रोजाई बनाउने गरी सुधार गरेरै छाड्ने जनाए । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पनि घरदैलोबाटै विद्यालय पुर्‍याउने प्रबन्धले विद्यार्थीको संख्या बढ्ने तर, त्यतिले मात्र नपुग्ने उनले टिप्पणी गरेका छन् । ‘सामुदायिक विद्यालयका विद्यार्थी पनि घरदैलोबाटै बस चढेर विद्यालय पुग्न पाउने भएपछि केही संख्या बढ्न सक्छ । तर, संख्या बढाएरमात्र पुग्ने छैन । गुणस्तर बढाउँदै सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ,’ उनले भने ।

Advertisement

मेयर आचार्यले पोखरामा घर या डेरादेखि स्कुलसम्म साना बाबुनानीलाई बसमा चढाएर घण्टौं लगाएर विद्यालय पु¥याउने गरिएको भन्दै यो गलत भएको टिप्पणी गरे । त्यसो गर्दा साना बाबुनानी थकित हुने र राम्रोसँग अध्ययन गर्न रुचि नराख्ने उनको भनाइ छ । त्यसको सट्टा एउटा निश्चित क्षेत्र तोकेर विकल्प दिने विषयमा सोच्नुपर्ने बेला आएको उनले सुनाए । महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई शैक्षिक हबको रुपमा विकास गर्न गुणस्तरीय शिक्षा दिनुपर्ने बताइन् । उनले लामो मेहनतपछि बस ल्याउन सफल भएको जानकारी दिँदै सम्बन्धित विद्यालयले सुविधासँगै गुणस्तर समेत बढाउनुपर्नेमा जोड दिइन् । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुल बसले विद्यार्थीको पहुँच बढ्ने र विद्यार्थीलाई सुरक्षित महसुस गराउने धारणा राखे ।

कार्यक्रममा लेखनाथ क्षेत्रका ४ सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । शिक्षा महाशाखामा आयोजना गरिएको कार्यक्रममा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र शिक्षा महाशाखा प्रमुखले पोखरा २९ को जनप्रकाश मावि, पोखरा ३० को त्रिभुवन शान्ति मावि, पोखरा ३१ को अम्मरसिंह मावि र पोखरा ३२ को ब्रह्मरुपा माविलाई स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् ।

शिक्षा महाशाखाका अधिकृत विश्राज आचार्यका अनुसार सम्बन्धित विद्यालयले १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै लगानीमा बस ल्याइएको जानकारी दिए । १ करोड १ लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका ४ स्कुल बस ल्याइएको हो । ती बसमा चालकबाहेक ४० सिट छन् ।

तपाईको प्रतिक्रिया