प्राध्यापकको गल्तीले गर्दा प्रश्नपत्र हुबहुः त्रिवि

समाधान संवाददाता २०७९ असार ३१ गते ११:४४

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताएका छन् ।

‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए’, उनले भने, ‘प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।’ उनले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको जानकारी दिए ।

त्रिविले प्रश्नपत्र हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिको सिफारिसमा ३ प्राध्यापकलाई कारबाही गरिएको हो । त्रिविमा मानविकी संकायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषय अन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

Advertisement

व्यवस्थापन संकायको स्नातक तह बिबीए छैटौँं सेमेस्टरको यही असार २२ गते र असार २५ गतेको प्रश्नपत्र पनि हुबहु पाइएको छ । यस्तै, मोर्डन नेपाल कलेजको ३ महिनाअघि सोधिएको प्रश्नपत्र असार २२ गतेको परीक्षामा र शंकरदेव क्याम्पसले लिएको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्नपत्र यही असार २५ गते बिबीएलाई सोधिएको थियो ।

‘ती उपप्राध्यापकलाई प्रश्नपत्र बनाउन दिँदा उहाँले मोर्डन कलेजमा नै सोधिएको प्रश्नपत्र दिनुभयो’, उनले भने, ‘यसरी तीन महिनाअघि मोर्डन कलेजको आन्तरिक परीक्षामा सोधिएको प्रश्नपत्र त्रिविको परीक्षामा पनि सोधिएको पाइयो ।’ उनले समाजिक सञ्जालले गर्दा हुबहु प्रश्नपत्रबारे जानकारी प्राप्त भएको भन्दै अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने जनाए । ‘प्राध्यापकले प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएको छ,’ उनले भने, ‘अबदेखि हामी हस्तलिखित प्रश्नपत्र माग्ने छौं ।’

Advertisement

त्रिविका उपकुलपति डा. बास्कोटाले प्रश्नपत्रका हुबहु सम्बन्धमा त्रिविले प्राडा भोजराज अर्यालको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको सुनाए । समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हुबहु प्रश्नपत्रमा संलग्नलाई कारबाही गरिने बताए ।

तपाईको प्रतिक्रिया