‘को–हजबेन्ड’ अमेरिका र भारतको चलचित्र महोत्सवमा

समाधान संवाददाता २०७९ साउन २ गते ११:०४

काठमाडौं ।
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनोट भएको छ । अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’ छानिएको निर्देशक गणेश पाण्डेले बताए ।

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा उनको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

३५ मिनेटको यो डकुमेन्ट्री घरमा जति दाजुभाइ भए पनि एउटै श्रीमती बिहे गर्ने प्रथा केन्द्रित छ

Advertisement


आगामी अगस्ट ३ देखि ६ सम्म भारतको कलकत्तामा आयोजित साउथ एसिसन सर्ट फिल्म फेस्टिबलमा पनि ‘को–हजबेन्ड’ छनोट भएको छ । आयोजक प्रेमेन्द्र मजुमदारका अनुसार, कत्तकत्तामा चलचित्र महोत्सव उद्घाटनकै दिन ‘को–हजबेन्ड’ प्रदर्शन हुँदै छ ।

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको यसले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १ हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो ।

Advertisement

विश्वका दर्जन बढी चलचित्र महोत्सवमा छनोट भइसकेको ‘को–हजबेन्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९ औं इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो । ‘नेपाली डकुमेन्ट्री बिभिन्न देशका फिल्मबीचको प्रतिष्पर्धामा छनोट भई अवार्ड जित्नु गर्वको कुरा हो । कोरोनाका कारण संसारभरका चलचित्र महोत्सव स्थगित भएकाले यसको असर ‘को–हजबेन्ड’को अन्तर्राष्ट्रिय यात्रामा पनि परेको थियो । आशा छ, यसपालि अमेरिका र भारतमा दर्शकबाट राम्रै माया मिल्नेछ,’ निर्देशक पाण्डेले भने ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका छन् । निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

तपाईको प्रतिक्रिया