डेढ महिनाअघि नै तीजगीतको लहर

राष्ट्रिय समाचार समिति (रासस) २०७९ साउन ४ गते ११:५०

पाेखरा ।
दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने ६ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् । भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक/स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा संगीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ ।

तीजको मौसमी संगीत बजारमा चर्चा पाएको अर्को गीत होः ओम् भोले । दुई हप्ताअघि युट्युबमा सार्वजनिक उक्त गीतलाई अहिलेसम्म १३ लाख बढी पटक हेरिएको छ । गीतमा गायक खुमन अधिकारी र शान्तिश्री परियारको स्वर छ । रविन लामिछानेको शब्दमा गायक अधिकारीले नै संगीत दिएका छन् ।

अनेक विषय, भाव र बान्कीम हुनुपर्ने तीज गीत अहिले रोधीघरका दोहोरीजस्ता छन्

Advertisement

गीतको म्युजिक भिडियोमा गायक अधिकारी, कलाकार अञ्जली अधिकारी र अभिषेक खड्काको अभियन देख्न सकिन्छ । गायक अधिकारीले सालिन्दा तीज गीत निकाल्ने गरेका छन् । ‘जाउँ न माया सरर गाडीमा’, ‘हाइ माया’, ‘ए आम्मै’, ‘ढुङ्गे धारा’लगायत तीज लक्षित गीत अहिले युट्युबमा छाएका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । संगीतप्रेमी स्रोता/दर्शक तीज गीततिर डोरिएका छन् ।

यसपालि तीज भदौ १४ मा छ । पर्व नजिकिएसँगै तीजका भाका पनि गुञ्जन थालेका हुन् । तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । लोकगायक विष्णु खत्रीले पनि सोमबार तीज गीत ‘बिग्रेकी केटी’ सार्वजनिक गरेका छन् ।

Advertisement

गायक खत्रीको शब्द र संगीत रहेको गीतमा गायिका प्रीति आलेले स्वर दिएकी छन् । गीतमा आधुनिकतासँगै बदलिएकी ‘केटी’को अनुभूति अभिव्यक्त छ । पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । कलाहीन र तडकभडकयुक्त गीतले तीजको मौलिकता र मर्मलाई आत्मसात् नगर्ने कला मर्मज्ञ बताउँछन् ।

तीज गीतको मर्म र भावना खल्बलाउन नहुनेमा उनीहरुको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो । अहिलेका तीज गीत भने रोधीघरको दोहोरीजस्ता सुनिन थालेका छन् । विपरीत लिंगीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । तीज गीतमा पनि पुरुष कलाकारकै बर्चश्व देखिन थालेको छ ।

क्यासेट र सिडीको जमाना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । प्रविधिमा ठूलो परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनै समय गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ । युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ ।

राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने कलाकार बताउँछन् । गीतको बलमा जतिधेरै ‘भ्युज’ बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा कलाकारको युट्युबमा राम्रो रकर्ड रहने गर्छ । सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय युट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्युज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया