इन्दुलको आत्मालोचना

समाधान संवाददाता २०७९ साउन ९ गते ११:०५

पोखरा ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालमा डा. इन्द्रुल केसी आत्मालोचनासहित प्रस्तुत भए । आइतबार पोखरामा आफ्नो आँखामा आफैँ डा. इन्दुल केसीको आत्मालोचना शीर्षक दिइएको कार्यक्रममा केसीले जीवनका विभिन्न उत्तरचढावका अनुभूति प्रस्तुत गरे ।

कुनै समय पोखराको स्थानीय विकास अधिकारीको भूमिकामा रहेको स्मरण गर्दै केसीले आफ्नो सम्पत्ति विवरण शीर्षकको कविता सुनाएर आत्मालोचना सुरु गरेका थिए । कवितामा राजनीतिक नेतृत्वलाई कठोर व्यङ्ग्य गर्दै आफ्नो सम्पत्ति आफ्नो सामान्य घर र परिवारमात्र रहेको उल्लेख थियो ।

भूइँचालो कविताका सन्दर्भमा बोल्दै केसीले आफूले २०६५ सालमा भूइँचालो कृति प्रकाशन गरेको र ०७२ सालमा नेपालमा विनाशकारी भूइँचालो गएपछि धेरैले कविको दूरदर्शितालाई सराहना गरे तापनि आफू साहित्यको सामान्य विद्यार्थीमात्र रहेको बताए ।

Advertisement

८१ वर्षको वय पार गर्दै गरेका डा. केसीको ऊर्जा उत्साहपूर्ण छ । नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले विभागमा यसरी स्रष्टालाई ल्याएर कार्यक्रम सञ्चालन गर्न पाउँदा गर्वबोध भएको बताए । इमानका साथ आफ्नो काममा खटिँदा शारीरिक रोगले रोक्न नसक्ने उनले बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले डा. केसी सरल, सिर्जनशील र विलक्षण प्रतिभा भएको विचार राखे । पोखरा १ का वडा सदस्य रामजीप्रसाद पौडेलले राजनीतिले देश आक्रान्त बनेका बेला साहित्यकार, शिक्षक र प्राध्यापकहरु आफ्नो कर्ममा इमान्दार हुन सके देशमा सुशासन आउने बताए ।

Advertisement

उनले राजनीतिबाहिर देखे जस्तो र बोले जस्तो नभएकाले त्यसलाई व्यवहारमा देखाउन विभिन्न उल्झन पार गर्नुपर्ने र जिम्मेवारी बोध गर्नुपर्ने जनाए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख यादवराज उपाध्याय, साहित्यकार तथा पत्रकारहरु विनोद अधिकारी, बद्री दुलाल, अभिमन्युविक्रम राणा, कृष्ण सारथि, निरु पोखरेल, महेशजंग कुँवर, उपेश नौवांग, गणेशबज्र लामा, गीताञ्जली साहित्य परिवारका पूर्व अध्यक्ष शिवप्रसाद गौतम लगायतले बोलेका थिए ।

सोेही नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका प्राध्यापक चूडामणि खनाल, पूर्व विभागीय प्रमुख कुलप्रसाद खनाल र कविवर तेजनाथ घिमिरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । दिवंगत तीन शिक्षासेवी र साहित्यसेवीको व्यक्तित्वबारेमा प्राडा न्यौपानेले चर्चा गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष असफल गौतमले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए भने साहित्यकार सावित्री गिरीले तीजे गीत गाएकी थिइन् । संस्थाका कार्यवाहक अध्यक्ष प्राडा यामबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सञ्चालन महासचिव मदन भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया