चर्काे सवारी जरिवानाबाट पछि हट्यो प्रदेश सरकार
अब २०० होइन, २० प्रतिशतमा झर्यो जरिवाना

पोखरा ।
ढाड सेक्ने गरी सवारी साधनमा लगाएको जरिवानाबाट अन्ततः गण्डकी प्रदेश सरकारपछि हटेको छ । सडक र सदन दुवैतिर तीव्र आलोचना भएसँगै सवारी करको जरिवाना स्वरुप लिन थालेको २ सय प्रतिशत जरिवाना सरकारले घटाएको छ । अब आर्थिक वर्ष नाघ्दा सवारी करमा २० प्रतिशतमात्रै जरिवाना लाग्ने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार आकस्मिक बैठक राखी सरकारले जरिवानासम्बन्धी व्यवस्था बदलेको हो । सवारी साधनको कर र त्यसको जरिवानासम्बन्धी व्यवस्था आर्थिक ऐनमा हुन्छ । तर यसपालि अर्थमन्त्री रामजीप्रसाद बरालले ल्याएको बजेटमा त्यससम्बन्धी व्यवस्था नै छुटेको थियो ।
त्यसपछि प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा भए अनुसार जरिवाना लिन थालिएको थियो । उक्त ऐनको दफा १ सय ७६ मा जरिवानासम्बन्धी व्यवस्था छ । तर, त्यसमा व्याकरणीय त्रुटि भएको भन्दै जरिवाना घटाउने निर्णय गरेको भौतिक पूर्वाधार, सहरी तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले बताए ।
२०७९/८० को बजेट अन्तर्गतको आर्थिक ऐनले जरिवानाको विषय समावेश नगर्दा प्रदेश सरकारले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ अनुसार जरिवानाको व्यवस्था गरिएको मन्त्री खड्काले बताए । ‘साउन १ गते यातायात कार्यालयले कसरी जरिवाना लिने भनेर पत्राचार गर्यो । हाम्रो क्षेत्राधिकारभित्र नपर्ने भएकाले हामीले अर्थ मन्त्रालयसँग राय माग्यौं,’ उनले भने, ‘अर्थ मन्त्रालयले साउन ३ गते प्रदेश सरकारले बनाएको ऐन अनुसार जरिवाना गर्नू भनी पत्र पठायो । सोही बमोजिम हामीले यातायात व्यवस्था कार्यालयलाई पत्राचार गर्यौं ।’
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७६ को ‘घ’मा आर्थिक ५ वर्षसम्म नाघेमा दोब्बर २ सय प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । मन्त्री खड्काले भाषामा व्याकरण त्रुटि हुँदा सवारीधनीमा मार पर्न गएको बताए । ‘ऐनमा आर्थिक ५ वर्षसम्म नाघेमा २ सय प्रतिशत तिर्नुपर्ने व्यवस्था छ तर कार्यान्वयनमा व्याकरणीय त्रुटि देखियो, जसको प्रत्यक्ष मारमा नागरिक पर्न पुगे,’ उनले भने ।
सडक, सदनबाट तीव्र रुपमा कुरा उठिसकेपछि सरकार तत्काल त्यसको समाधानतर्फ लागेको मन्त्री खड्काले बताए । ‘छलफलमा समाधानका २ वटा बाटा देखियो, एउटा आर्थिक ऐनमा बाधा, अड्काउ फुकाउने, त्यो अधिकार अर्थ मन्त्रालयलाई थियो । अर्काे प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनको बाधा अड्काउ फुकाउने अधिकार प्रदेश सरकारलाई थियो,’ उनले भने, ‘हामीले सवारी यातायात व्यवस्था ऐनको दफा २१९ बमोजिम बाधा अडकाउ फुकाऊ गर्ने निर्णय ग¥यौं ।’
मन्त्रिपरिषद् बैठकबाट सवारी कर जरिवाना पहिलो आर्थिक वर्षमा २ सय प्रतिशतबाट २० प्रतिशतमा झार्ने निर्णय गरिएको मन्त्री खड्काले बताए । ‘अघिल्लो वर्ष ३२ थियो । जनताको माग अनुसार ३२ बाट २० प्रतिशतमा झारेका छौँ,’ उनले भने, ‘छिट्टै नै राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याउँछौँ ।’ सवारी कर र जरिवानाको व्यवस्था गर्ने आर्थिक ऐनले अघिल्लो वर्षको ऐनलाई प्रतिस्थापन गर्छ ।
मन्त्री खड्काका अनुसार पहिलो वर्ष सवारी जरिवाना करको २० प्रतिशत, दोस्रो वर्ष साबिकको करको ४० प्रतिशत, तेस्रो वर्ष साबिकको ६० प्रतिशत, चौथो वर्ष साबिकको ८० प्रतिशत र पाँचौं वर्ष साबिकको १०० प्रतिशत लाग्नेछ ।
अहिले जरिवाना संकलन रोकिएको छ । यातायात व्यवस्था कार्यालयले मंगलबार सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेको हो । मन्त्री खड्काले बुधबारको निर्णय राजपत्रमा प्रकाशित गरी सम्भवतः अर्काे हप्ता जरिवाना लिन थालिने सुनाए ।
मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि सार्वजनिक गर्ने व्यवस्था छ । तर मन्त्री खड्काले प्रत्यक्ष जनतासँग जोडिएको विषय भएकाले तत्काल जानकारी गराइएको तर्क गरे । ‘मन्त्रिपरिषद्को निर्णय सामान्यतया २४ घण्टापछि सार्वजनिक गरिन्छ तर यो जनतासँग जोडिएको विषय भएकाले तत्काल सार्वजनिक गरेका हौँ,’ उनले भने ।
यसअघि २ सय प्रतिशत जरिवाना तिरिसकेका सकेका हकमा के हुन्छ भन्ने प्रश्नमा मन्त्री खड्काले राजस्व फिर्ता लिन नमिल्ने भए पनि समायोजन गरेरअघि बढ्ने आन्तरिक छलफल भएको बताए । ‘आधिकारिक रुपमा निर्णय भइसकेको छैन । बुझाइसकेको राजस्व पनि फिर्ता लिन मिल्दैन,’ उनले भने, ‘नागरिकलाई मर्का नपर्ने गरी समायोजन गर्ने गरी अगाडि बढेका छौँ ।’

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया