आजबाट राष्ट्रिय खुला लोक दोहारी प्रतियोगिता, मेयर आचार्यले उद्घाटन गर्ने

समाधान संवाददाता २०७९ साउन १२ गते १०:३९

पोखरा ।
कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल पोखराले गर्न लागेको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको तयारी र्पूरा भएको छ । लोक गायक कल्याण शेरचनको ७६ औं जन्म जयन्तीको अवसरमा बिहीबारदेखि पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि स्टेज निर्माणको काम पूरा भएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्योल्मोले जानकारी दिए ।

प्रतियोगिताका लागि सहभागी तथा निर्णायक सबै पोखरा आईपुगेका छन् । प्रतियोगिताका लागि ४६ टोलीले नाम दर्ता गराएका छन् । सहभागिताका लागि २ हजार शुल्क तोकिएको छ । अध्यक्ष ह्योल्मोले गण्डकी प्रदेशको राजधानी पोखरामा लोकबाजाको संग्रहालय निर्माण गर्न तथा लोक गायक स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्न प्रतियोगिता गर्न लागेको बताए ।

र्यक्रममा स्रष्टा सम्मान तथा इन्द्रेणी कार्यक्रमको प्रस्तुतिसमेत रहनेछ । गीत, संगीततर्फ नारायण रायमाझी र शिक्षाप्रेमी योगेन्द्रबहादुर बस्नेत (मरणोप्रान्त)लाई जनही २५ हजार नगदसहित सम्मान गरिने अध्यक्ष ह्योल्मोले बताए । पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेलगत्तै प्रतियोगिता सुरुवात हुनेछ । ‘शिक्षा र खेलकुदको क्षेत्रमा समेत योगदान पुर्‍याएका शेरचनको प्रिय विधा लोक दोहोरीगीत प्रतियोगिता गर्न लागेका छौं,’ अध्यक्ष ह्योल्मोले भने, ‘विगतका वर्षमा शेरचनको जयन्तीमा काठमाडौं र पोखरामा कौरा, मादल वादन प्रतियोगिता, सारंगी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भएका छन् ।’ उनले प्रतियोगिताबाट ५५ लाख आम्दानी र ३९ लाख ५० हजार खर्च हुने जानकारी दिए । बचत १५ लाख ५० हजारबाट शेरचनको शालिक निर्माण गर्ने योजना छ ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा प्रतियोगिताको निर्णायक संयोजक रमेश बिजीले प्रतियोगिताका लागि भाका छनोट गरी भाका वापत स्रष्टालाई रोयल्टी प्रदान गरिने जानकारी दिए । भाकाका लागि लोक गीत स्रष्टा व्यक्ति तथा कम्पनीसँग सम्झौता गर्ने उल्लेख गर्दै अध्यक्ष बिजीले दुबै समूहले गाउन सक्ने प्रचलित भाकालाई छनोट गर्ने बताए । उनले पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा लोक दोहोरी गीतलाई समेट्ने प्रयास भइरहेको जानकारी दिए ।

इन्द्रेणी साँस्कृतिक समाज काठमाडौंका निर्देशक कृष्ण कँडेलले कल्याण शेरचनले लोक संस्कृतिको सिर्जनामा दिएको योगदानलाई पुनर्ताजगीका लागि सहकार्य गरेको बताए । कल्याण शेरचन स्मृति प्रतिष्ठानका सचिव जीवन दाहालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वाना हुने समूहलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र १ लाख नगद प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई जनही ५० हजार प्रदान गरिनेछ ।

Advertisement

सर्वोत्कृष्ट कलाकारलाई बेलायतको कार्यक्रममा सहभागी गराइने कार्यक्रम रहेको सचिव दाहालले बताए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रीय समिति, प्रतिष्ठान गण्डकी तथा कास्की, इन्द्रेणी साँस्कृतिक समाज काठमाडौं, गण्डकी तथा पोखरा प्रज्ञा प्रतिष्ठान, हिमाली साँस्कृतिक परिवारको सहकार्य छ ।

तपाईको प्रतिक्रिया