साहित्यकार खनालको सम्झना

समाधान संवाददाता २०७९ साउन १५ गते १२:४६

पोखरा ।
पोखरामा शनिबार साहित्यकार, शिक्षासेवी कुलप्रसाद खनालको सम्झना गरिएको छ । गत साउन ४ गते खनालको निधन भएको थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम, प्रोस्टेड र उच्च रक्तचापका बिरामी थिए ।

साहित्य र शिक्षाको क्षेत्रमा धेरै पुरस्कार पाएका खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्षसमेत हुन् । संगम र प्रगतिशील लेखक संघ कास्कीले एक कार्यक्रम गरी खनालको सम्झना गरेका हुन् । खनाल प्रगतिशील लेखक संघ कास्की पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्यसमेत थिए । संगमका सल्लाहकार रघुनाथ अधिकारीले साहित्यमा खनाल मूल तवरले निबन्धकार भएको जनाए । अधिकारीले खनालले समाजको विसंगति र असमानताप्रति प्रहार गरेको जनाए ।

सल्लाहकार प्राडा रविलाल अधिकारीले खनाल व्यक्तित्वको आरम्भमा मूल रुपमा पात्रकार भएकाले जीवनभर त्यसको प्रभाव देखिएको सुनाए । उनले भने, ‘उहाँ काठमाडौंमा हुँदा मूल रुपमा पत्रकार हुनुहुन्थ्यो । सर्जक बनेपछि यथास्थितिप्रति असन्तुष्टि र नयाँ निर्माणको अपेक्षा सिर्जना देखिन्छ ।’ वाम बुद्धिजीवी रामराज रेग्मीले इतर विचारकालाई सम्मान गर्ने र आफू संलग्न संघ, संस्था सञ्चालनमा प्रगतिशीलता कायम गर्ने व्यक्तित्वको रुपमा खनालको स्मरण गरे । संगम अध्यक्ष डा कृष्णराज अधिकारीले खनालको शैक्षिक र साहित्यिक व्यक्तित्वका असल पाटाको अवलम्बन गर्दै अघि बढ्दा उनीप्रति सम्मान हुने विचार राखे । खनालका अप्रकाशित सिर्जना प्रकाशनका लागि पहल गर्न उनले आग्रहसमेत गरे ।

Advertisement

संगमका सचिव भीम रानाभाटले गोकुल जोशीलाई स्थापित गर्ने लगायतका काममा खनालले स्थागत भूमिका निर्वाह गरेको स्मरण गरे । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख यादवराज उपाध्याय, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल, सहप्राध्यापक डा लक्ष्मीशरण अधिकारी, प्रलेस कास्की अध्यक्ष लोकनाथ पुडासैनी, प्राडा यामबहादुर पौडेल क्षेत्री लगायतले बोलेका थिए ।

खनालले पृथ्वीनारायण क्याम्पसको प्रध्यापनलाई मूल कार्यक्षेत्र बनाएर नेपाली प्रगतिशील सिर्जना र समालोचना समेतमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । विस २००१ मा तनहुँको चुँदी सिमपानीमा जन्मेका उनी लामो समयदेखि पोखरा ५ राधाकृष्ण मार्गमा बस्थे । नेपाली भाषा र साहित्यका क्षेत्रका व्यक्तित्व खनालले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्री गरेका थिए । गोकुल साहित्य पुरस्कारको स्थापनामा उनको योगदान छ ।

Advertisement

तपाईको प्रतिक्रिया