‘एउटा चित्र’को टिजर सार्वजनिक

समाधान संवाददाता २०७९ साउन १७ गते १०:५४

पोखरा ।
गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर सार्वजनिक गरिएको हो । ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले यो सस्पेन्स चलचित्र भएको उल्लेख गरे । ‘एउटा चित्र सस्पेन्स मुभी हो । बनिरहेका गुरुङ चलचित्रभन्दा केही फरक बनाएका छौं’, उनले भने ।

उनले चलचित्रको छायांकन पोखरा, गोरखा जिल्लाको बारपाक गाउँ, माम्चे डाँडा साथै इलाममा गरिएको जानकारी गराए । ४० लाख लगानीमा निर्माण भएको चलचित्रमा नायकको भूमिकामा नवीन गुरुङ र ओम गुरुङ छन् भने नायिकाको भूमिकामा उर्मिला गुरुङ र अञ्जु गुरुङको अभिनय छ । सुशन गुरुङ, कुशल गुरुङ, आशीष गुरुङ, एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् ।

चलचित्रमा मिना गुरुङ, शान्ति गुरुङ (युके), रोशन घले गुरुङ (एचके), खेम गुरुङ(एचके),गंगादेवी गुरुङ (पोखरा) र कौशिला गुरुङ(जापान) को लगानी छ । नायक नवीनले आफू चित्रकारको भूमिकामा रहेकोे सुनाए । नायिका उर्मिला चलचित्रमा विवाहित महिलाको भूमिका देखिएकी छन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् । चलचित्र मार्फत विवाहित महिलाको जीवनका विषयमा बुझ्ने अवसर मिलेको उनले जनाइन् ।

Advertisement

नायक ओम भने एक प्रसिद्ध व्यवसायीका रुपमा देखिएको निर्देशक विवेक गुरुङले जानकारी गराए । नायिक अञ्जु गुरुङ भने फोटोग्राफरको भूमिकामा छिन् । कार्यक्रममा चलचित्र पत्रकार संघ कास्की अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमासमेत माथि उठाउन आवश्यक रहेको बताए । ‘एउटा चित्र’मार्फत गुरुङ चलचित्रमा परिवर्तन आउने उनको अपेक्षा छ ।

चलचित्रको छायाँकन तथा सम्पादन निकोलस गुरुङले गरेका हुन् । चलचित्रमा संगीत मविन्द्र राई र विकास चौधरीले भरेका हुन् । चलचित्रका गीतलाई प्रताप दास, मविन्द्र राई, अस्मिता अधिकारी र ममता गुरुङले गाएका हुन् । सुदीपजंग थापा र मविन्द्र राईको गीतलाई चलचित्रमा समावेश गरिएको छ । विनोद रसाइलीको पाश्र्व संगीत रहेको चलचित्रको पोस्ट प्रोडक्सन ‘चंगा प्रोडक्सन’ले गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया