सम्पादकीय: सधै खानेपानीकै पीर

समाधान संवाददाता २०७९ साउन १७ गते ११:५६

पानीबिना सजीवको जीन्दगानी कल्पना हुँदैन । ब्रह्माणमा पानीको मात्रा जमिनभन्दा दोब्बर छ । पानीकै नजिकमा बस्ती विकास भएका छन् । पानीकै बाटोबाट व्यापार भएको छ, पानीमै जीविकोपार्जन खोजिएको छ, सिँचाइबाटै अनाज फल्छन् । अर्थात् पानीबिना जीवन सम्भव छैन । २१ शताब्दीको बीचतिर आइपुग्दा पनि आधा नेपाली स्वच्छ खानेपानीको पहुँचबाट टाढै छन् । संसारमा पानीमा दोस्रो धनी देश भनिने विशेषणले हामीलाई गिज्याइरहेको छ ।

खानेपानीको माध्यामबाट मानिसको शरीरमा ७० प्रतिशतभन्दा धेरै रोग लाग्ने गरेको तथ्य हामीसामु छ । तर पनि खानेपानी र सरसफाईमा उचित ध्यान पुग्न सकेको छैन । ५७ प्रतिशत नेपाली आधारभूत सरसफाइबाट बञ्चित छन् । शुद्ध खानेपानीको सुविधा ८० प्रतिशत जनसंख्यामा पुर्‍याउन सफल भए तापनि खानेपानी परियोजना दिगो नहुँदा यसको पहुँच ५३ प्रतिशतमा मात्र सीमित भएको देखिन्छ ।

सन् २०१७ सम्ममा सबैका लागि आधारभूत सरसफाइ र शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य पूरा भएन । स्थानीयदेखि प्रदेश र संघीय सरकारले खानेपानीका लागि ठूलै बजेट विनियोजन गर्दै आएका छन् । सिमित बाहेक अधिकांश पानीका मुहानमा सरसफाइ गरिएको पाइदैन । मुहान फोहोर हुँदा पानीबाट लाग्न सक्ने सर्ने खालका वा महामारीजन्य रोग लाग्ने गरेका छन् । कतिपय स्थानमा नागरिक अगुवा तथा स्थानीय समाजसेवी, तथा जनप्रतिनिधिको उपस्थितिमै पनि खानेपानीको मुहान सरसफाई गर्ने अभियान नै चलाइएको पाइन्छ । तर खानेपानी कहाँबाट के कारणले दुषित भइरहेको छ भन्ने कुरा पत्ता लगाउन निकै कठिन छ ।

Advertisement

गण्डकी प्रदेश सरकारले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । विधेयकमा मानव मलमूत्रलाई सिधै नदीमा मिसाएमा ५ लाखसम्म जरिवाना गर्ने व्यवस्था छ । नेपालका खानेपानीका मुहानहरु स्वच्छ छैनन् । मुहान रहेका नदी, खोला छेउछाउ बस्तीहरु छन् । ती बस्तीको फोहोर र दिशापिसाब सिधै नदी, खोलामा पुग्ने अवस्था छ । प्रदेश सरकारले कानुन त निर्माण गरेको छ तर यसको कार्यान्वयन अर्काे चुनौतीपूर्ण पाटो हो । नेपालका दूरदराजदेखि महानगरसम्मै शुद्ध खानेपानीको सहज पहुँच छैन ।

बजारका बासिन्दाले जारमा पानी किनेर खानुपर्ने अवस्था छ । गाउँ गाउँमा बस्ती पातलिँदै जाँदा थोरै जनसंख्याका लागि खानेपानी पहुँच बनाउन कठिनाइ भएको छ भने खानेपानीका स्रोतहरु सुक्दै जाँदा थप चुनौती थपिएको छ । विकास, निर्माण होस् वा वैज्ञानिक आविष्कार, कृषि होस् कि उद्योग पानीबिना सम्भव छैन । २१ औं सदीको समृद्धिको बाटोमा हिडिरहेको मुलुकले खानेपानीकै लागि नागरिकलाई सकस हुने अवस्था अन्त्य गर्नैपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया