भ्रष्टाचारविरुद्ध कालोपट्टी लगाएर राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रदर्शन

समाधान संवाददाता २०७९ साउन १९ गते ११:०३

पोखरा ।

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले बुधबार पोखरामा भ्रष्टाचार, नागरिकता विधेयक, महङ्गी लगाएतका विषयविरुद्धमा कालोपट्टी र कालो कपडा लगाएर विरोध प्रदर्शन गरेको छ ।

सम्पुर्ण जिल्लामा पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने कार्यक्रम अनुरुप कास्कीले विरोध प्रदर्शन गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । पोखराको शहिदचोकमा भएको प्रदर्शनमा पार्टीका युवा नेता देखि पार्टीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

Advertisement

२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको संघर्षमा होमिएको छ । यसअघि राप्रपाले १३–३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो ।

११ साउनदेखि ३१ गतेसम्म दोश्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राप्रपा भदौमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारीमा रहेको समेत प्रवक्ता गिरीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्र प्रमुखको रुपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, आगामी प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित र विश्वसनीय बनाउन निष्पक्ष चुनावी सरकार गठन लगायत महँगी, बेरोजगारी, किसान, मजदुरका समस्या समाधानका विभिन्न २२ सुत्रीय माग राखी राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । सोही माग पूरा गराउन दबाबमूलक कार्यक्रम जारी रहेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया