अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

समाधान संवाददाता २०७९ साउन १९ गते १७:३५

जोमसोम– सोमबार देखि अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि बिहिबार साँझ ५ बाट संञ्चालनमा आएको छ । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमान काभे्रभीरमा सुख्खा पहिरो र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिएपछि अवरुद्ध बनेको सडक भर्खरै संञ्चालनमा आएको बेनी–जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
वर्षाले म्याग्दी र मुस्ताङको सीमान काभ्रेभीरमा सुख्खा पहिरोले ३ मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभीरमा करिव ५० मिटर सडक भाँसिएको थियो ।
सोमबार देखि अवरुद्ध बेनी–जोमसोम सडक अन्तर्गत काभ्रेभीरमा सडक मर्मत तथा सडक सफा गर्न वर्षाले अवरोध तुल्याएको थियो । बुधबार मौसममा सुधार आएपछि सडक मर्मत तथा सडक सफा गर्ने काम अघि बढेको थियो । सडक स्तरोन्नतिमा परिचालन गरिएको निमार्ण कन्ट्रक्सनको उपकरण र जनशक्ति परिचालन गरी बेनी–जोमसोम सिधा यातायात संञ्चालनमा ल्याईएको सुपरभाईजर शेरचनले जानकारी दिए ।
काभ्रेभीरमा सडक अवरुद्ध हुँदा म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दी जाने दर्जनौ सवारी साधन तथा मालवाहक ट्रकहरु बीचमै अलपत्र परेका थिए । सडक खुलेसंगै अहिले बीच सडकमा रोकिएका सबै सवारी साधन गन्तब्यमा प्रस्थान गरेको सुपरभाईजर शेरचनले बताए ।
यसअघि काभ्रेभीरमा सडक अवरुद्ध हुँदा काभ्रेभीरको कालिगण्डकी पारी पैरोथाप्लाको पदमार्ग हुँदै डेढ घण्टा पैदल हिड्न बाध्य परेका थिए ।

तपाईको प्रतिक्रिया