थासाङ गाउँपालिकाले बनायो कालिज फार्म

सुन्दरकुमार थकाली २०७९ साउन २० गते १२:१०

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङको घाँसामा पहिलो पटक कालिज फर्म तथा रेन्बो ट्राउट माछा पोखरी पूर्वाधार निर्माण भएको छ । सरकारको स्थानीय स्तरमा रोजगार सृृजना गर्ने तथा कृषि पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य अनुरुप घाँसामा पहिलो पटक कालिज फर्म र रेन्बो ट्राउटका पूर्वाधार निर्माण गरिएको हो ।

थासाङ गाउँपालिकाको लागि आर्थिक वर्ष २०७८/०७९ को संघीय सरकारको विशेष अनुदान शीर्षकमा १ करोड २५ लाख बजेट विनियोजित भएको थियो ।

कार्यविधि बनाएर कालिज फार्म तथा रेन्बो ट्राउट पालन गर्ने पालिकाको तयारी

Advertisement


पूर्वाधार निर्माणका लागि गत आवको जेठ ५ गते सम्झौता भएको र सम्पन्न गर्न ४० दिनको म्याद कायम गरिएको थियो । सोही सम्झौता अनुसार कन्ट्रक्सनले घाँसामा कालिज फार्मसम्मको सडक निर्माण तथा मर्मत, कालिज फार्म, माछा पोखरी निर्माण, पानी टंकी निर्माण, पाइन लाइन, स्टोर रुम आदि निर्माण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सुवेदीले जानकारी दिए ।

थासाङको घासामा कालिज फार्म तथा रेन्बो ट्राउट पूर्वाधार निर्माण भएसँगै कृषि पर्यटनको प्रर्वद्धन, स्थानीय स्तरमा रोजगारी सिर्जना र गाउँपालिकाको आन्तरिक आम्दानीमा योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उल्लेख गरे । घाँसामा करिब १५ रोपनी सार्वजनिक जंगलमा कालिज फार्म तथा रेन्वो ट्राउट पूर्वाधार निर्माण भएको छ ।

Advertisement

‘कालिज फार्म तथा रेन्बो ट्राउट पूर्वाधार निर्माण भएको छ, अब त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि निर्माण गर्नेछौं,’ प्रशासकीय अधिकृत सुवेदीले भने, ‘गाउँकार्यपालिकाले बैठक बसेर त्यसको सञ्चालन मापदण्ड र भाडादर कायम गरी पूर्वाधार निर्माणको जिम्मा लगाउने छौं ।’ उनले पूर्वाधार उपयोग गर्न व्यक्ति, समुदाय, संघसंस्था कसलाई प्राथमिकता दिने र कसरी बढी राजस्व संकलन हुन सक्छ भन्नेतर्फ जोड दिइने उल्लेख गरे ।

पालिकाले पछिल्लो समय कालिज पालन व्यवसायलाई प्रोत्साहन गर्ने र त्यसलाई पर्यटनसँग जोड्दै रोजगार सृजना गर्ने लक्ष्य लिएको छ । कालिज कुखुरा प्रजातिको जंगली पंक्षी हो । समुन्द्री सतहको २ सय ५० मिटरदेखि ३ हजार ५० मिटरको भूभागमा कालिज पाइने गर्छ । कालिज अक्सर पहाडी भूभागमा बस्छ । नेपालमा कालिज पालन व्यवसाय फस्टाउँदै जान थालेको छ । मुस्ताङ भने पहिलो पटक यसको पूर्वाधार निर्माण भएको हो ।

नेपालका जंगलमा हुने कालिज प्रतिबन्धित छ । तर, नेपालमा विदेशबाट कालिजको अण्डा झिकाएर कालिज उत्पादन गर्ने गरिएको छ । कालिजको मासु स्वादिलो र प्रोटिनयुक्त हुनाले धेरै मानिस कालिजको मासु खान लालायित हुन्छन् । सुत्केरी महिला र बाथ रोगका बिरामीलाई कालिजको मासुले फाइदा हुने विश्वास गरिन्छ । एउटै कालिजको मूल्य ३ हजार देखि ४ हजारसम्म पर्छ । कालिजको चल्ला ५ महिना पालेपछि मासुका लागि योग्य हुन्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया