पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ बाट खुल्ने

समाधान संवाददाता २०७९ साउन २३ गते १०:२२

पोखरा ।
सरकारले अंग्रेजी नयाँ वर्षबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुस अर्थात अंग्रजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षमा बैठक बसेको थियो । यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ हुनेछ । गत आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।

पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरामा सरकारले क्षेत्रीय स्तरको विमानस्थल बनाउने निर्णय गरेसँगै यसको काम धमाधम अघि बढिरहेको र अहिले निर्माण सम्पन्नताको चरणमा पुगेको छ ।

Advertisement

यो विमानस्थलमा वाइडबडी विमानको सट्टामा १८० सिट क्षमताका न्यारोबडी विमान सञ्चालन गरिनेछ । साँघुरो उपत्यका भएकाले वाइडबडी विमान सञ्चालनमा समस्या आउने हुँदा प्राविधिक कारणले न्यारोबडी विमानमात्रै यस विमानस्थलमा चल्ने बताइएको छ ।

सरकारले यो आयोजना निर्माणका लागि अहिलेसम्म ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ । विमानस्थल सञ्चालन मिति तय भए पनि नजिकै रहेको ल्याडफिल साइट अझै सारिएको छैन । पोखरा महानगरले नयाँ ल्याडफिल साइट निर्माणका लागि बजेट व्यवस्थापन गरे पनि जग्गाको विवादले कामअघि बढेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया