एक्लै लड्छौं, एकल सरकार बनाउँछौंः अर्याल

समाधान संवाददाता २०७९ साउन २३ गते १०:३०

पोखरा ।
एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले आगामी आम निर्वाचनमा ५ दलीय गठबन्धनको डटेर सामाना गर्ने बताएकी छन् । पार्टीको गण्डकी प्रदेश कमिटी तथा प्रचार तथा प्रकाशन विभागले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा सचिव अर्यालले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सबै दलको गठबन्धनको दृढताका साथ सामना गर्ने बताइन् ।

उनले आगामी निर्वाचनमा एक्लै भिड्ने र एकल सरकार बनाउने बनाउने योजनाका साथ अगाडि बढ्नुपर्ने खाँचो औंल्याइन् । उनले एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने दृढता व्यक्त गरिन् ।

एमालेसँग एक्लै भिड्ने सामथ्र्य कसैले राख्दैन । गठबन्धन गर्दा पनि यिनको मुटु काँपेको छ ।
पद्मा अर्याल, एमाले सचिव

Advertisement

अहिलेको गठबन्धन समग्र विकास तथा मुलक बनाउनका निम्ति नभई एमालेलाई हराउने उद्देश्यसहित बनेको उनले दाबी गरिन् । अर्यालले अहिलेको सरकार इतिहासको नै असफल र नालायक भएको आरोप लगाइन् । ‘एमाले जनतामा आधारित पार्टी हो । एमाले कमजोर भए कोही कसैले गठबन्धन गर्नुपर्ने थिएन,’ उनले भनिन, ‘एमालेसँग एक्लै भिड्ने सामथ्र्य कसैले राख्दैन । गठबन्धन गर्दा पनि यिनको मुटु काँपेको छ ।’

उनले वर्तमान सरकारले मतपेटिका लुट्न मिल्ने गरी मतदान केन्द्र सारेको आरोप लगाइन् । सचिव अर्यालले सरकारका क्रियाकलापबाट जनताले राहतको महसुस गर्ने कुनै ठाउँ नभएको तर्क गरिन् । राज्यले प्रवाह गर्ने सेवा प्रायः ठप्प भएको तथा विकास, निर्माणका काम पूरै अवरुद्ध भएको दाबी गर्दै उनले आर्थिक हिसाबले असफल तथा आर्थिक सूचकांकहरु पूरै धाराशायी बन्दै गएको उनको तर्क छ ।

Advertisement

एमसिसी तथा एसपिपी जस्ता गलत सम्झौतालाई अगाडि बढाएर दीर्घकालीन रुपमा राष्ट्रलाई नोक्सान पुर्‍याउने काम भएको आरोप उनले लगाइन् । नेपाललाई रणभूमि बनाउने तथा नेपालको भूमि प्रयोग गरेर कुनै राष्ट्रलाई असफल बनाउन लागेको उनले दाबी गरिन् । एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभामा एमालेका सचेतक मायानाथ अधिकारीले विगतको सरकारले अगाडि सारेको बहु वर्षीय योजनालाई अहिलेको सरकारले निरन्तरता नदिएको बताए । उनले एमालेसँग धेरै विषयमा सहमति गरेको भए पनि सरकारले त्यसको पालना नभएको सुनाए ।

प्रदेश सरकार जनविरोधी
एमाले गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकार मनोमानी ढंगले चलेको तथा जनविरोधी काम गरेको आरोप लगाएको छ । अघिल्लो सरकारले अगाडि सारेका बहुवर्षीय योजनामा राजनीतिक पूर्वाग्रह साँधेर बजेट विनियोजन कटौटी गरेको र दोस्रो चरणमा लैजाने योजनासमेत प्रभावित भएको एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले आरोप लगाए ।

१ निर्वाचन क्षेत्र १ सडकको दीर्घकालीन नीतिलाई निस्तेज पार्ने मनसायले कृषि सडकको आवरण दिएर दीर्घकालीन महत्वको नीतिलाई लत्याएको आरोप एमालेले लगाएको छ । बजेट निर्माणको सिद्धान्त विपरीत विना योजना बजेट ल्याइएको एमालेको भनाइ छ । आफूखुसी बजेट बनाउने तथा सत्तापक्षका सांसदलाई प्रति सांसद ५ करोड बजेट विनियोजन गर्ने तर विपक्षी सांसदलाई दोस्रो दर्जाका सांसदको रुपमा व्यवहार गरेको उनको दाबी छ ।

मन्त्री परिषद सदस्यका दिवंगत आफन्तको नाममा ट्रस्टको आवरणमा बजेट छुट्याएर निजी सम्पत्ति बनाउन खोजको उनले टिप्पणी गरे । प्रदेश सरकारले बजेटका करको दर मनपरी तवरले हेरफेर गरेको उनको आरोप छ । अध्यक्ष शर्माले सवारी कर तथा जरिवाना तथा मालपोत कर बढाएर सरकारले नराम्रो रेकर्ड राखेको बताए ।

तपाईको प्रतिक्रिया