प्रेस युनियन पत्रकारिता पुरस्कार घोषणा
पोखरा ।
नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम २०७७ का लागि रमेश पौडेल र २०७९ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो ।
गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पगेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य थिए । युनियनले १२ लाख अक्षयकोष स्थापना गरेर २०७२ सालदेखि हरेक २ वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कार युनियनको सदस्य रहेको, १५ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनेलाई प्रदान गर्ने गरिन्छ ।
पुरस्कार राशि जनही ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ । कोरोना महामारीका कारण रोकिएको २०७७ यसपालि संयुक्त रुपमा वितरण गरिन लागेको नेपाल प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले जानकारी दिए । प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रहेका रमेश पौडेल हाल रेडियो बाराहीमा कार्यकारी निर्देशक छन् । उनी गोरखापत्र राष्ट्रिय दैनिक गण्डकी प्रदेश ब्युरो प्रमुख एवं नेपाल टेलिभिजनका पोखरा संवाददाता छन् ।
३ दशकअघि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका पत्रकार पौडेल, दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल टेलिभिजन उत्कृष्ट पत्रकारिता पुरस्कार, गोरखापत्रबाट उत्कृष्ट समाचारदाता, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार लगायतबाट पुरस्कृत हुनुको साथै दर्जनाैं संघ, संस्थाबाट सम्मानित भएका छन् ।
यस्तै, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका रवीन्द्र बास्तोला पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । २०५२ सालदेखि पत्रकारितामा क्रियाशील उनी हाल हिमदूत दैनिकका सम्पादक एवं रेडियो तरंगका अध्यक्ष छन् । यसअघि उनी दयाशंकर स्मृति पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुको साथै दर्जनाैं संघ, संस्थाबाट सम्मानित भएका छन् ।
तपाईको प्रतिक्रिया