७० प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

समाधान संवाददाता २०७९ साउन ३१ गते ११:०५

काठमाडौं ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाईसहित तोकिएको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म विवरण प्राप्त नभएका उम्मेदवार अधिक देखिएकाले त्यसबारे अध्ययन पूरा भएपछि आयोगले कारबाहीबारे चाँडै निर्णय गर्ने बताए । उनले ढिला गरी पेस हुन आएको खर्च विवरण पनि स्वीकार नगरिने स्पष्ट गरे । आयोगले विजयी र पराजितमध्ये कति उम्मेदवारले खर्च विवरण बुझाए या नबुझाएको विवरणसमेत तयार गरिरहेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (२) मा कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यसरी पेस भएको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको परीक्षणका आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानूनी प्रयोजनका लागि गैरकानूनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । यसरी जरिवानाको कारबाही भएका व्यक्ति आउँदो निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित हुनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया