जिल्लाको सबै बजेट हालेर कोरला–लोमान्थाङ सडक

सुन्दरकुमार थकाली २०७९ साउन ३१ गते ११:१९

जोमसोम ।
चीनसँग अन्तर देशीय व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले २०७४ मा कोरला नाकासम्मको सडक स्तरोन्नति थालियो । राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडकले देशकै अर्थतन्त्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने अपेक्षा छ । बेनी–जोमसोम ७४ किमी ४ खण्ड र जोमसोम–कोरला १ सय १० किमी सडक ७ प्याकेजमा सडक स्तरोन्नतिको कामअघि बढाइयो ।

जोमसोम–कोरलाका ७ खण्डमध्ये ६ वटाको काम सकेर करिडोर सडक कार्यालयलाई हस्तान्तरण भइसकेको छ । माथिल्लो क्षेत्रमा एउटा खण्ड निर्माणको अन्तिम चरणमा छ । बेनी–जोमसोमका ४ खण्डको पनि समग्र भौतिक प्रगति ७० प्रतिशत छ ।

साबिक मुस्ताङ जिविस र गाविसहरुको सबै बजेट हालेर घरेलु उपकरणको सहायताले २ वर्षमा कोरला–लोमान्थाङ सडक बनेको थियो

Advertisement

भारतीय नाकाबन्दीमा सुरु गरिएको कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले सडक विस्तार गरेसँगै मुस्ताङ आउजाउ गर्न सहज त भएको छ नै, यसका अलवा मुस्ताङमा पर्यटक आवागमनसमेत बढिरहेको छ । सडक विस्तारसँगै मुक्तिनाथ दर्शन तथा कोरला नाकासम्म भ्रमण गर्न आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ ।

मुस्ताङमा सडक पहुँचपछि बर्सेनि ६० हजार विदेशी आउने गरेका छन् भने आन्तरिक पर्यटकको संख्या वार्षिक ५ लाख हाराहारी छ । बेनी जोमसोम कोरला सडक आयोजनाअघि मुस्ताङ सडक सञ्जालसँग कसरी जोडियो भन्ने थोरैलाई अवगत छ ।
२०५७ अघि मुस्ताङ सडक पहुँचमा थिएन । सीमावर्ती क्षेत्रका बासिन्दाले घोडा, खच्चडबाट दैनिक उपभोग्य सामग्री हप्तौं लगाएर ढुवानी गरी उपल्लो मुस्ताङ पुर्‍याउँथे ।

Advertisement

सडक नहुँदा अन्य विकासका मार्गसमेत भएका थिएनन् । उपल्लो मुस्ताङको चराङदेखि कोरला नाकासम्मको भाग तिब्बती भूमी जस्तै समथर खुला पठार थियो । त्यही समथर पठारमा सडक खन्न सहज हुने ठानेर २०५७ सालमा तत्कालीन जिल्ला विकास समितिले कोरला नाकाको उत्तरी क्षेत्रबाट दक्षिणतर्फ लोमान्थाङसम्म सडक विस्तार गर्ने योजना बनाएको थियो ।

त्यस बेला जिल्ला विकास समिति सभापति थिए निर्मलकुमार गौचन । अहिलेका संघीय सांसद प्रेमप्रसाद तुलाचन, आङ्गेल बिष्ट र आङ्गेल गुरुङ जिविस सदस्य थिए । ०५७ सालमा जिविसको टिमले कोरलादेखि लोमान्थाङसम्म सडक विस्तार गर्ने योजना बनायो । समितिको बैठकले मुस्ताङका साबिक १६ वटै गाविस र जिल्ला विकास समितिको सबै बजेट यही बाटोका लागि खर्च गर्‍यो ।

त्यस समय संघीय सांसद तुलाचन निर्माण व्यवसायी थिए । उनलाई कोरला–लोमान्थाङ सडक निर्माणको संयोजक भई काम गर्न जिविसले जिम्मेवारी दियो । त्यसपछि मुस्ताङमा सुरु भयो सडक निर्माण । दक्षिणतर्फ पोखराबाट म्याग्दी हुँदै मुस्ताङमा सडक कनेक्टिभिटी जोड्न सम्भव भइसकेको थिएन । चीनबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्न, काठमाडौंबाट कोदारी हुँदै उपल्लो मुस्ताङमा खाद्य संस्थानको खाद्यन्न ल्याउन र उपल्लो मुस्ताङमा उत्पादित सामग्री चीनतर्फ निर्यात गर्न कोरला–लोमान्थाङ सडक निकै महत्वपूर्ण थियो ।

सडक निर्माण संयोजक तुलाचनले इन्जिनियर खोज्न पोखरा पुगे । उनले इन्जिनियर अर्जुनजंग थापालाई घोडामा चढाएर उपल्लो मुस्ताङ पु¥याए । यसरीमा घोडामा आएका इन्जिनियर थापा अहिले सडक विभागका महानिर्देशक छन् । त्यस बेला थापाले सडक नाप्ने र तुलाचनले किलो गाड्ने गरेका थिए ।

थापा घमीमा २ दिनसम्म अल्टिच्युडका कारण बिरामी परे । बिरामी कम भएपछि फेरि काम सुरु भयो । तुलाचन सम्झन्छन्, ‘त्यस बेला मुस्ताङमा सडक ट्रयाक जिएन । काम गर्न कठिन र चुनौतिपूर्ण थियो । स्थानीयलाई दैनिक ज्याला हाजिरी दिएर कुटो, कोदालो र गैचीको सहाराले सडक बनायौं ।’

२०५७ सालमा सडकको काम गर्दा अहिलेको जस्तो सडक खन्ने उपकरण थिएनन् । घरेलु उपकरणको सहायताले २ वर्षमा कोरलाबाट लोमान्थाङसम्म सडक निर्माण गरेको सासद तुलाचनले सुनाए । कोरलाबाट लोमान्थाङसम्म सडक बनेपछि चिनियाँ सामग्री र खाद्यान्न ढुवानी गर्न सहज भएको थियो । अहिले उपल्लो मुस्ताङमा भएका विकासको जग त्यही सडक भएको सांसद तुलाचनले दाबी गरे ।

कोरला लोमान्थाङ सडक बनेपछि २०६२ मा नेपाली सेनाले जोमसोमबाट म्याग्दीको बेनीसम्म कच्ची सडक खन्यो । सेनाकै पहलमा त्यस समय जोमसोम बेनीको ट्र्याक खोलियो । जोमसोमबाट लोमान्थाङसम्म त्रिपलआरले २०६५ सालमा सडक विस्तार सुरु गर्‍यो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया