स्वास्थ्यकर्मीलाई आत्महत्या रोकथाम तालिम

समाधान संवाददाता २०७९ साउन ३१ गते ११:४८

पोखरा ।
स्वास्थ्यकर्मीका लागि आत्महत्या रोकथामसम्बन्धी २ दिने तालिम सोमबार सकिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको तालिममा महानगरभित्रका विभिन्न २१ स्वास्थ्य संस्थामा कार्यरत २६ स्वास्थ्यकर्मी सहभागी थिए ।

उनीहरुलाई गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रविराज तिमिल्सिना, मनोविद् विनय पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग पोखराका वरिष्ठ अधिकृत खिमलाल सुवेदी र कोशिशकी अभियन्ता वसन्ती खत्रीले विभिन्न विषयमा सहजीकरण गरेका थिए । मनोचिकित्सक डा. तिमिल्सिनाले ८० प्रतिशत व्यक्तिले आत्महत्या गर्नु अगाडि कुनै न कुनै प्रकारको लक्षण देखाउने गरेको बताए ।

उनले शारीरिक रुपमा अस्वस्थ हुँदा बिरामी अस्पताल वा चिकित्सककोमा पुग्ने गरे पनि मानसिक रुपमा अस्वस्थ हुँदा कसैलाई पनि जानकारी नगराउने प्रचलन व्याप्त रहेको भन्दै उचित परामर्शपश्चात आत्महत्यालाई रोकथाम गर्न सकिने औंल्याए ।
मनोविद् पाण्डेले मानसिक रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिए । उनीहरुका कुरा राम्रोसँग नसुनिदिने परिपाटीका कारण रोकथामका प्रयास प्रभावकारी हुन नसकेको पाण्डेको ठम्याइ छ ।

Advertisement

घरपरिवार र समाजले उनीहरुका कुरालाई सुनिदिनुपर्ने पाण्डेले उल्लेख गरे । सबैको साझा प्रयासले मात्र यसलाई न्यूनीकरण गर्न सकिने उनले औंल्याए । आयोगका वरिष्ठ अधिकृत सुवेदीले मानसिक स्वास्थ्य र मानवअधिकार एकअर्कामा अन्र्तसम्बन्धित भएको जनाए । मानसिक अवस्था अस्वस्थ भएका व्यक्तिले अधिकारको प्रत्याभूत गर्न नपाएको उनले बताए । कोशिशकी अभियन्ता खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले कोशिसको यो प्रयास निकै सकारात्मक रहेको जनाए । उनले महानगरले यो अभियानमा साथ दिने प्रतिबद्धता गरे । आगामी वर्षदेखि यसका लागि महानगरले बजेट नै छुटयाउने उनको भनाइ छ । अर्यालले सहभागीलाई सिकेका कुरा कार्यस्थलमा व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे ।

Advertisement

कोशिशका परियोजना संयोजक सुदीप घिमिरेले शारीरिक जस्तै मानसिक स्वास्थ्य अझै पनि नेपालको प्राथमिकताको बिषय बन्न नसकेको बताए । आत्महत्याको जोखिम घटाउने उद्देश्यले संस्थाले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिलाई समय समयमा विभिन्न अभिमुखीकरण तालिम प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया