नयाँबजारमा बन्यो बहुउद्देश्यीय भवन

समाधान संवाददाता २०७९ साउन ३१ गते १२:४१

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहज हुने बताएका छन् । पोखरा ८ दमकल मार्गमा निर्माण भएको सामाजिक भवन मन्त्री थापा र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा आइतबार उद्घाटन गरे ।

‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनतालाई लाभ मिल्नेछ’, उनले भने, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमका लागि भवनको माध्यम सहजता मिल्नेछ ।’ मन्त्री थापाले भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने जनाए ।

समाजमा रहेका विकृति, विसंगति न्यूनीकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य आधुनिक समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकतलाई उनले औंल्याए । कला, संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण, सम्बद्र्धमा सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समिति लाग्ने विश्वास मन्त्री थापाको छ ।

Advertisement

पोखरा महानगरपालिकाका मेयर आचार्यले महानगर र दमकलमार्गबासीमा हिजो देखिएका तीत्ततालाई मेट्दै जाने प्रतिवद्धता जनाए । उनले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास जनाए । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधि तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने अपेक्षा गरे ।

टोल, समाज र वडाको विकासमा महानगर सँधै साथमा रहेको उनको भनाइ छ । पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु सराहनीय भएको बताए । उनले स्थानीयका सोच र विचारसँगै वडा कार्यालय साथमा रहेको उनको भनाइ छ ।

Advertisement

सरस्वती मन्दिर निर्माण उपसमिति अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिर स्थापना गरिएको उल्लेख गरिन् । उनले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ, प्रदेश र स्थानीय सरकारलाई धन्यवाद दिइन् । व्यक्तिगत रुपमा आर्थिक सहयोग गरी भवन तथा मन्दिर निर्माण कार्यलाई सघाउनेहरुलाई समेत उनले धन्यवाद दिइन् ।

कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समिति कोषाध्यक्ष पूर्णबहादुर रानामगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उनले दिए । महासचिव धीरज थापाले समितिले गरेका कार्यबारे प्रकाश पारे ।

समिति अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी शोभा दिदीले पनि बोलेकी थिइन् ।

तपाईको प्रतिक्रिया