पेट्रोलमा १ र डिजलमा ४ रुपैयाँ घटेर आयो

समाधान संवाददाता २०७९ साउन ३१ गते १५:२०

काठमाडौं ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ ।

पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो । यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो । यसपटक मूल्य घटाउने वा नघटाउनेबारे मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने निगम स्रोतले जानकारी दिएको छ ।नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ नोक्सान रहनेछ । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ । यो भाउ अझै घट्ने अनुमान छ । दुई महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ।

Advertisement

तपाईको प्रतिक्रिया