सामुदायिक सेवा केन्द्रको भूमिका प्रशंसनिय: मन्त्री थापा

समाधान संवाददाता २०७९ साउन ३१ गते १८:०९

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाजमा भएका विकृति, विसंगती न्यूनिकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको भूमिका प्रशंसनिय रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको २२ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विकृति विसंगति रहित समाजको निर्माणमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले खेलेको भूमिका महत्वपूर्ण छ । नागरिक र प्रहरी बीचको सम्बन्धद्वारा सुसंस्कृत एवम् समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ’, उनले भने । मन्त्री थापाले सामुदायिक सेवा केन्द्र स्थानीय, जनसमुदायको सहयोगमा नेपाल प्रहरीसँग सहकार्य गरी विभिन्न प्रकारका सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा संलग्न भएको देख्दा खुशी लागेको बताए ।

उनले सभ्य समाज निर्माणमा यस्ता सेवा केन्द्रहरु साहायक सिद्ध हुने विश्वास व्यक्त गरेका छन् । संस्थाका लागि संस्था खोलेर मात्र नभई काम गरेर देखाउनुपर्ने आवश्यकतालाई उनले औल्याएका छन् । सामाजिक कुरितिलाई न्यूनिकरण गर्ने सवालमा सामुदायिक सेवा केन्द्र अग्रस्थानमा रहेको अभिव्यक्ति उनको थियो ।

Advertisement

सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष धर्मदत्त आचार्यले विकृति विसंगति रहित समाजको निर्माण नै आफुहरुको उद्देश्य रहेको बताए । उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा पत्रकार श्याम कुँवरलाई सामुदायिक सेवा वर्ष २०७९ मार्फत सम्मान गरिएको छ । उहाँलाई नगद रु ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा सचिव उत्तम जोशीले सामुदायिक सेवा केन्द्र पृथ्वीचोकले गरेका कामकारबाहीका विषयमा जानकारी गराएका थिए । उनले समाजमा भएका समस्यालाई समाधान गर्ने विषयमा सामुदायिक सेवा केन्द्र अगाडि बढीरहेको बताए ।

Advertisement

कोषाध्यक्ष तीर्थ शर्मा ढकालले वार्षिक आयव्यय प्रस्तुत गर्दै सेवा केन्द्रले आव २०७८ र ०७९ मा १३ लाख ४४ हजार ९६६ रुपैयाँ आम्दानी गरेको र १० लाख ९६ हजार ४४४ रुपैयाँ खर्च भएको जानकारी गराए । उपाध्यक्ष कमल बहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, जाल्पादेवी महिला उद्धार समितिकी अध्यक्ष राधिका थापा लगायतले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा आज भन्दा २२ वर्ष अगाडि खोलिएको संस्था हो ।

तपाईको प्रतिक्रिया