ट्होटें पर्वको रौनक

समाधान संवाददाता २०७९ भदौ १ गते १०:२३

पोखरा l
जातीय पोसाक-भांग्रा र कछाड लगाएका पुरुष । छिट्को गुन्यु र चोलीमा सजिएका महिला । विभिन्न रङ पोतिएका अनुहार । मंगलबार पोखराका सडकमा त्यस्तो भावभंगीमा निस्किएकाहरुको ठूलो ताँती देखियो । गण्डकी प्रदेशको एउटा प्रमुख जाति गुरुङको विशेष पर्व ट्होटेंको अवसर जो थियो ।

पोसाकमात्रै नभएर गुरुङ जातिको परम्परागत घरहरु, जीवनशैली झल्कने झाँकी पनि सडकमा देखिए । ट्होटें गुरुङ जातिले वर्षमा दुईपटक मनाउँछन्, चैत र साउनको अन्तिम मंगलबार । यसपालि झनै विशेष र उत्साहका साथ यो समुदायले आफ्नो मौलिक र परम्परागत पर्व मनायो । यो वर्षको उत्साहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मौलिक पर्व ट्होटेंको रौनक बढाइन् ।

पोखराको चल्तीको व्यापारिक केन्द्र महेन्द्रपुलमा गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुभारम्भ गरेको ट्होटें र्‍याली तमु धि नेपालको केन्द्रीय कार्यालय नयाँबजारमा आएर पर्वको मूल समारोहमा परिणत भयो, जहाँ प्रमुख अतिथि राष्ट्रपति भण्डारी थिइन् । राज्यले खासै पहिचान नगरेको ट्होटेंमा यसपालि अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकाले आफू मातहतका शैक्षिक संस्थामा विदा दिएका थिए । त्यसमाथि राष्ट्र प्रमुख नै सहभागी हुँदा गुरुङ समुदायले गर्व महसुस गर्‍यो ।

Advertisement

कार्यक्रममा आफ्नो सांस्कृतिक पर्वलाई भव्य रुपमा मनाउन गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका गुरुङ समुदायका मानिसहरु पनि आइपुगेका थिए । ५० भन्दा बढी तमु समाजमा आबद्ध हजारौं तमुहरु सहभागी थिए । पोखरा र बाहिरका तमु समाजहरुको नेतृत्वमा जातीय भेषभूषामा, बाजागाजा र झाँकीसहित ट्होटें मनाइयो ।

शरीरमा खरानी घसेका । कालोमोसो दलेका र रुखको हाँगा टाँसेर धनुषकाँडा, भालालगायत विशेष हतियार लिएका मानिसहरुसँगै ढ्यांग्रो ठटाउनेहरु थिए । छेली पनि बज्दै थियो । भूत, प्रेतका चित्रजस्ता मुकुन्डो लगाइनु भूतप्रेत भगाउने सन्देश थियो । अचेल भने भ्रष्टाचार भगाउने संकेतका रुपमा त्यस्तो मुकुन्डोसहित झाँकी प्रदर्शन गरिएको तमु धिंका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

Advertisement

संस्कृतिकर्मीहरु दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने तथा भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा गुरुङ समुदायले यसलाई मनाउँदै आएको बताउँछन् । राष्ट्रपति भण्डारीले ट्होटें मूल समारोहलाई सम्बोधन गर्दै भूतप्रेत हटाउने मात्र नभई यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । गण्डकी प्रदेशको खासगरी हिमाली भेग गुरुङ, भाषा र संस्कृतिको उद्गम थलो मानिने भण्डारीले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘प्राचीनकालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषियोग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातिको विषेश योगदान रहेको स्मरण गर्न चाहन्छु ।’ गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीले बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सभामुख नेत्रनाथ अधिकारी लगायत पनि सहभागी थिए । तमुहरुको थातथलो गण्डकी प्रदेशले यस्ता पर्व र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न लाग्नुपर्नेमा प्रदेश प्रमुख गुरुङले जोड दिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गुरुङहरुको बाहुल्य भएको गण्डकी प्रदेशले सम्पूर्ण तमुहरुले अपनत्व गर्ने गरी सरकारले कार्यक्रम ल्याइरहेको उल्लेख गरे ।

तमु संघ संस्थाले विसं २०५२ देखि साउन र चैतको अन्तिम मंगलबार सामूहिक रूपमा धुमधामका साथ यो पर्व मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया