माओवादी केन्द्रीय पदाधिकारीमा गण्डकीका ७ जना

समाधान संवाददाता २०७९ भदौ ५ गते ११:०१

पोखरा ।
नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारीको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

२१ सदस्यीय पदाधिकारीमा गण्डकी प्रदेशबाट ६ जना समावेश भएका छन् । महासचिवमा मनाङका देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा गोरखाका नारायणकाजी श्रेष्ठ चयन भएका छन् । सचिवमा बागलुङका दिनानाथ शर्मा, देवेन्द्र पौडेल र हितमान शाक्य र गोरखाका हितराज पाण्डे र कोषाध्यक्षमा तनहुँका श्रीराम ढकाल परेका छन् । ढकाल केन्द्रीय कार्यालय मुख्य सचिव छन् ।

माओवादी उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् । उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन् । सचिवमा गणेश साह, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, राम कार्की र डिलाराम आचार्य छन् । महाधिवेशन भएको करिब ८ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकार’बीच सहमति जुट्न नसकेपछि विकल्पमा देव गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेको बुझिएको छ ।

Advertisement

माओवादीले प्रदेश समिति बैठकको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार गण्डकी प्रदेशमा भदौ ९ गते प्रदेश समिति बैठक डाँकिएको छ । भदौ ७ गते मधेस प्रदेश, १० गते प्रदेश नम्बर १ र ११ गते लुम्बिनी प्रदेश समितिको बैठक तय छ ।
बागमती प्रदेशमा भदौ १२ गते, उपत्यका विशेष समिति १३ गते, सम्पर्क समन्वय समिति १५ गते, कर्णाली प्रदेश १६ र सुदूरपश्चिम प्रदेश समिति बैठक १७ गतेलाई बैठक तय गरिएको माओवादीले जनाएको छ । यसअघि माओवादीले सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा मोटामोटी सहमति जुटाएपछि मात्र प्रशिक्षण सञ्चालन गर्ने जनाएको थियो ।

नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ । शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्णा चौधरी, भीमा ढुंगाना र जगत सिंखडा रहेको समिति गठन गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया