युवा अपेक्षा सम्बोधन गर्छौंः पाण्डे

समाधान संवाददाता २०७९ भदौ ६ गते १२:२२

पोखरा ।
नेकपा (एमाले)ले आगामी आम निर्वाचनमा आम युवाको अपेक्षा सम्बोधन गर्ने गरी घोषणापत्र बनाउन लागेको छ । नागरिकको प्रमुख मुद्दाको रुपमा रहेको युवा रोजगारी र युवाका अपेक्षालाई सम्बोधन गर्ने गरी घोषणापत्र बनाउन लागेको केन्द्रीय कमिटी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए ।

पार्टीको नेतृत्वमा बनेको सरकारले ज्येष्ठ नागरिक, एकल महिलालाई मासिक भत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रम ल्याएको जानकारी दिँदै उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको घोषणापत्र बनाउँदा युवा र बालबालिकालाई केन्द्रविन्दुमा राखिने बताए । ‘पछिल्लो समयमा युवा, बालबालिकाको क्षेत्रमा लगानी अपेक्षित रुपमा सुधार भएन,’ उपाध्यक्ष पाण्डेले भने, ‘राज्यले प्राथमिकतामा राखेर बालबालिका र युवाको क्षेत्रमा लगानी बढाए मुलुक सुदृढ बन्छ ।’

उनले व्यक्तिगत रुपमा समेत छोराछोरीको शिक्षा र स्वास्थ्य लगायतका भविष्यप्रतिको लगानी गर्ने प्रचलन बढेको उल्लेख गरे ।
प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष पाण्डेले अहिले पनि राज्यले नदिएको युवाको रोजगारी र युवाको अपेक्षालाई पूरा गर्न एमालेअघि बढ्ने उल्लेख गरे । उनले एमालेको शक्तिलाई अधिकतम रुपमा सुदृढ गरेर निर्वाचनमा जाने जानकारी दिए ।

Advertisement

उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनले अहिलेको राजनीतिक समस्याको समाधान गर्नुपर्ने बताए । निर्वाचनले राजनीतिक स्थिरता कायम गर्नुपर्ने उल्लेख गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरेर मुलुक समृद्धिको यात्रामा जानुपर्ने विचार राखे । राजनीतिक खिचातानी अनेकौं अफ्ठेराको बाबजुद चुनावको तयारी भएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले वर्तमान गठबन्धनले मुलुकको संकट हल गर्न नसक्ने जिकिर गरे ।

उनले राजनीतिक स्वार्थले वर्तमान सत्ता गठबन्धनलाई एकै ठाउँमा रहन नदिने उल्लेख गरे । उनले आर्थिक जोखिम हल गर्न वर्तमान सरकार सक्षम नभएको तर्क गरे । उपाध्यक्ष पाण्डेले एकाध स्थानमा ठाउँ विशेष अनुसार तालमेल गरेता पनि एमालेले सिंगो देशव्यापी रुपमा गठबन्धन नगर्ने जानकारी दिए । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका उपाध्यक्ष मोतीसागर अधिकारी र सचिव रञ्चन अधिकारीले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया