मुस्ताङमा चाँडै २ रिङरोड

सुन्दरकुमार थकाली २०७९ भदौ ९ गते १०:३९

जोमसोम ।
मुस्ताङका २ स्थानीय तह रिङरोडले जोडिँदै छन् । उपल्लो मुस्ताङका लोमान्थाङ र तल्लो मुस्ताङका घरपझोङ गाउँपालिका रिङरोडमा आवद्ध हुन लागेका हुन् । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘१ निर्वाचन क्षेत्र, १ रणनीतिक महत्वको सडक’ अन्तर्गत लोमान्थाङ र घरपझोङ गाउँपालिकामा रिङरोड सडक निर्माणको काम द्रुत गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको घरपझोङमा रिङरोड बनेपछि स्थानीयको जीवन र उत्पादन बजारीकरण सहज बन्ने छन्

लोमान्थाङ रिङरोड सांसद ईन्द्रधारा बिष्ट र घरपझोङ रिङरोड सांसद महेन्द्रबहादुर थकालीको निर्वाचन क्षेत्रमा पर्छन् । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा सीमावर्ती क्षेत्रका जनताको सहजताका लागि रिङरोड बन्न लागेको हो । सीमावर्ती क्षेत्रका ५ वटै वडाअन्तर्गत लोमान्थाङ, ढिङ्गर, चुमजुङ, न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सारसम्मको मुख्य राजमार्ग जोड्ने करिब १० किमीको रिङरोड सडकको ठेक्का सम्झौता २०७६ साउन ६ मा भएको थियो ।

Advertisement

रिङरोडको कार्य सम्पन्न गर्नुपर्ने अवधि १८ महिनाको रहेकोमा कोरोना कहर, प्राकृतिक प्रकोप, हिमपात र हिउँदयामको अत्यधिक चिसोका कारण निर्माण कार्यमा बाधा पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोख्यालले उल्लेख गरे । लोमान्थाङ रिङरोड सडक स्तरोन्नतिको जिम्मा इमोटल कन्ट्रक्सनले लिएको छ । सुरुआती सम्झौता अनुसार २०७७ फागुन ६ गते सक्नुपर्ने सडकको म्याद पछिल्लो समय ४ पटक थपिएको छ । लोमान्थाङ रिङरोडको पछि थपिएको कार्यअवधि चालु वर्षको असोज २८ गते सकिँदै छ ।

लोमान्थाङ रिङरोडको सुरुआती लागत २१ करोड १७ लाख रहेकोमो भेरियसनपछि लागत २४ करोड पुगेको सूचना अधिकारी चोख्यालले बताए । लोमान्थाङ रिङरोडको लागत ३ करोड बढेको हो । निकै महत्वकांक्षी सडक मानिएको लोमान्थाङ रिङरोड सडकको भौतिक प्रगति ७० प्रतिशत छ भने वित्तीय प्रगती ६० दशमलव ९० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

लोमान्थाङमा रिङरोड बनेपछि ग्रामीण भेगकास्थानीयको दैनिकी सहज हुनुका साथै कृषि उपज बजारीकरणमा टेवा पुग्ने प्रदेश सांसद ईन्द्रधारा विष्ट बताउँछन् । उनले रिङरोडले पालिकाका ५ वटै जोड्ने भएकाले यातायात तथा खाद्यान्न ढुवानी लगायतमा सुविधा पुग्ने जनाए । यस्तै, गण्डकी प्रदेश सरकार अन्तर्गत मुस्ताङको तल्लो क्षेत्र घरपझोङ गाउँपालिकामा पनि रिङरोड सडकको काम भइरहेको छ । घरपझोङका ५ वटै वडा जोड्ने गरी जोमसोम, ठिनी, ढुम्बा, छैरो र चिमाङ जोड्ने सडक निर्माण सम्झौता ०७६ असार २६ गते भएको थियो ।

यो रिङरोडको सुरुआती सम्झौता २०७८ असार २५ गतेसम्म थियो । घरपझोङ रिङरोड पनि कोरोना कहरका कारण निर्माणमा ढिलाई हुन पुगेको पूर्वाधार विकास कार्यालय जनाएको छ । यो रिङरोड सडकको पछिल्लो सम्झौता अवधि ०७९ असोज ३० गतेसम्म छ । घरपझोङ रिङरोड सडक १०.५ किमी छ । जसमध्ये करिब ५ किमी सडक कालोपत्र हुनेछ । यसका लागि अहिले सडक ग्राभेल गरिँदै छ । जोमसोमदेखि ढुम्बातालसम्म कालोपत्र हुनेछ भने रिङरोडका ६ किमी नयाँ ट्र्याक खोल्ने सम्झौतामा उल्लेख भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोख्यालले जानकारी दिए ।

वन्दना भगवती जलजला कन्ट्रक्सनले २१ करोड ४३ लाखमा ठेक्का सम्झौता गरेको थियो । रिङरोडको ढुम्बातालदेखि छैरोसम्म नयाँ ट्रयाक खुलिसकेको छ । पछिल्लो समय रिङरोडको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५१ दशमलव ८२ प्रतिशत छ । मुस्ताङको घरपझोङ रिङरोड विस्तार भएमा पालिकाका ५ वटै वडाका स्थानीयले उत्पादन गर्ने कृषि उत्पादनको सहज बजारीकणमा टेवा पुग्नेछ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया