पत्रकार जमुनालाई टुरिज्म जर्नालिज्म अवार्ड

समाधान संवाददाता २०७९ भदौ ९ गते १८:०३

पोखरा ।
राष्ट्रिय समाचार समिति पोखराका संवाददाता जमुना वर्षा शर्मा पोखरा पर्यटन परिषदबाट सम्मानित भएकी छन् । पत्रकारिताबाट पोखराको पर्यटन प्रवद्र्धन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई परिषदको २२ औं साधारण सभा तथा १२ अधिवेशनका अवसरमा सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले नगद १५ हजार राशि सहित पोखरा टुरिज्म जर्नालिज्म अवार्ड शर्मालाई बिहीबार प्रदान गरे । २० वर्षदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष हुन् । पत्रकार बासु मिश्र पनि नगद राशि र सम्मान पत्रबाट सम्मानित भएका छन् । पर्यटन विषयमा कलम चलाउँदै आएका मिश्र ढोरपाटन दैनिक र रेडियो अन्नपूर्णमा आवद्ध छन् ।

मुख्यमन्त्री पोखरेलले पोखराको पर्यटन प्रवद्र्धनमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने जनाउँदै पर्यटन प्रवद्र्धनका गतिविधिमा अझै कलम चलाउन आवश्यक रहेको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको आधारनै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणा मार्फत पर्यटन विकास गर्नुपर्ने र पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा आवश्यता रहेकोमा जोड दिए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा ब्यवसायी असन्तुष्टि पर्यटन ऐनमा देखिएका कमी कमजोरीलाई संशोधन गरेर पर्यटन मैत्री ऐनका लागि आफूले पहल गर्ने जनाए । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूत महत्वपूर्ण हुने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य मदन आचार्यले पोखरालाई उत्कृष्ट गन्तब्य बनाउनका लागि सबैको साझा उद्देश्य र कार्यगत एकताको खाँचो औंल्याए ।

पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखेले देश विकासमा नीजि क्षेत्रको योगदान उल्लेख्य रहेको चर्चा गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भटराईले राज्यका नीति पर्यटन मैत्री हुन नसक्दा यस क्षेत्रको विकासमा बाधा परेको औल्याए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा लगायतले पोखराको पर्यटन विकासमा निजी क्षेत्र र मिडियाको भूमिकाको बारेमा आफ्नो धारणा राखे ।

Advertisement

कार्यक्रम परिषदका उपाध्यक्ष पोमनाराण श्रेष्ठले पर्यटन विकासमा परिषदले खेलेको भूमिकाको बारेमा प्रकाश पारे । महासचिव रामचन्द्र शर्माले वार्षिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया