मुस्ताङको चुनाव

मुस्ताङमा गठबन्धनभन्दा एमालेलाई सहज

सुन्दरकुमार थकाली २०७९ भदौ १० गते १०:३५

जोमसोम l
आगामी मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचन हुने भएपछि यसको चर्चा सुरु भएको छ । अन्यत्र चुनावी चर्चा चुलिइसके पनि हिमाली जिल्ला मुस्ताङलाई भने हत्तपत्त चुनावी सरगर्मीले छुँदैन ।

जब निर्वाचनको मिति नजिकिँदै जान्छ, तबमात्र मुस्ताङमा निर्वाचनको माहोल एकाएक बन्छ । केही जिल्लामा उम्मेदवारी घोषणा र कतिपय स्थानमा कसको पल्ला भारी हुने अड्कल भइरहँदा भने चुनावको छेकछन्द छैन । यद्यपि जिल्लाका राजनितिक दलले आन्तरिक तयारी भने गरिरहेका छन् ।

स्थानीय तहको परिणाम हेर्दा संघ र प्रदेश ‘क’ मा एमाले बलियो देखिन्छ भने प्रदेश ‘ख’मा निकै कडा प्रतिस्पर्धा हुन सक्छ

Advertisement

ठूलै परिवर्तन नभए संघीय तथा प्रादेशिक निर्वाचनमा स्थानीय तह निर्वाचन जस्तै ५ दलीय गठबन्धन हुने निश्चित छ । हालैको स्थानीय तह निर्वाचनमा २०७९ अन्तर्गत मुस्ताङका पालिकामा नेकपा (एमाले)ले ४ अध्यक्ष र ३ उपाध्यक्ष जितेको छ । कांग्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष जितेको छ ।

यसअघिको संघीय तथा प्रादेशिक निर्वाचनमा यहाँ एमालेले जित हासिल गरेको थियो । मुस्ताङमा ५ दलीय गठबन्धन विरुद्ध एक्लै निर्वाचनमा होमिन लागेको एमाले मुस्ताङमा विगतको परिणाम हेर्दा कांग्रेसभन्दा बलियो देखिन्छ । स्थानीय तह निर्वाचनमा ५ वटै स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले पाएको मतभार अनुसार परिणाम आए मंसिर ४ गते निर्वाचनमा एमालेको पल्लाभारी हुन्छ । स्थानीय तह चुनावमा मुस्ताङमा १० हजार ४ सय ८५ मतदाता थिए । ७ हजार ५ सय ५७ त्यो बेला खसेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङको तथ्यांकले देखाउँछ ।
जिल्लाका ५ वटै स्थानीय तहका अध्यक्ष पदमा एमालेले ४ हजार १ सय २६ मत पाएको छ भने कांग्रेससहितको गठबन्धनले ३ हजार ९१ मत पाएको छ । मुस्ताङमा अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धन भन्दा एमालेले पाएको मत १ हजार ३५ ले बढी थियो ।
उपाध्यक्षमा कांग्रेससहितको गठबन्धनले ३ हजार २ सय ३६ मत पाएको थियो भने एमालेले ३ हजार ७ सय २० मत पाएको छ । जिल्लाको ५ वटै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमाले ४ सय ८४ ले अघि छ । नेपाली कांग्रेसका ३ वडाध्यक्ष र एमालेका ४ वडाध्यक्ष निर्विरोध हुँदा ५ वटै तहमा वडाध्यक्षले पाएको मतमा पनि एमालेअघि छ ।

Advertisement

५ वटै तहमा वडाध्यक्षमा एमालेले २ हजार २ सय ५४ मत ल्यायो भने कांग्रेसले २ हजार ७० मत पायो । वडाध्यक्षको मतभारमा एमाले १८४ मतले अघि छ । अहिले करिब ५ सय मतदाता थपिएका छन् । प्रदेश ‘ख’मा पर्ने तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पर्छन् । यहाँ गएको स्थानीय तह निर्वाचनमा एमालेले २ अध्यक्ष र १ उपाध्यक्ष १ पद जितेको थियो भने १ अध्यक्ष र २ उपाध्यक्ष कांग्रेसका चुनिएका छन् ।

३ पालिकामा एमालेले अध्यक्षमा २ हजार ७ सय ६९ र कांग्रेसले २ हजार ३ सय ९२ मत पाएको देखिन्छ । उपाध्यक्षमा एमालेले २ हजार ४ सय ४७ र कांग्रेसले २ हजार ४ सय ८२ मत पाएका थिए । प्रदेश ‘ख’मा एमालेले अध्यक्षमा काग्रेसभन्दा ३७७ मत बढी पाएको देखिन्छ । उपाध्यक्षमा भने एमालेको भन्दा कांग्रेस गठबन्धनले ३५ मत बढी पाएको छ । स्थानीय तहको निर्वाचन मत परिणाम हेर्दा प्रदेश ‘ख’मा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अध्यक्ष र उपाध्यक्षले पाएको मत हुँदा प्रदेश खमा व्यक्तित्व र गठबन्धनको सहकार्यले असर पार्न सक्छ । यहाँ निर्वाचन रोचक हुने देखिन्छ । प्रदेश ‘क’मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्छन् । यहाँ एमालेले अध्यक्षमा १ हजार ३ सय ५७ मत पाएको छ भने कांग्रेससहितको गठबन्धनले ६ सय ९९ मत पाएको छ । उपाध्यक्षमा एमालेले १ हजार २ सय ७३ र कांग्रेस गठबन्धनले ७ सय ५४ मत पाएका छन् । वडाध्यक्षमा एमालेले ९ सय ५ मत र कांग्रेस गठबन्धनले ६ सय ७१ मत पाएको देखिन्छ ।

स्थानीय तहको मतपरिणाम अनुसार प्रदेश ‘क’मा एमाले एक्लै कांग्रेस गठबन्धनभन्दा ६ सय ५८ मतले अघि छ । उपाध्यक्षमा एमालेले कांग्रेसभन्दा ५ सय १९ मत बढी पाएको छ । वडाध्यक्षतर्फ एमालेले कांग्रेसभन्दा २ सय ३४ मत बढी पाएको देखिन्छ । यहाँ संघीय निर्वाचनमा उपल्लो मुस्ताङको मत महत्वपूर्ण हुन्छ । उपल्लो मुस्ताङको प्रदेश ‘क’मा स्थानीय तह निर्वाचनलाई आधार मान्दा एमालेको जित सहज देखिन्छ । तर, प्रदेश ‘ख’मा भने कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया