पोखरा उद्योग वाणिज्य संघ

सक्षमलाई नसमेट्दा चुनाव लड्ने अवस्था आयो: पोखरेल

समाधान संवाददाता २०७९ भदौ १० गते ११:०३

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिवेशनको रौनक बढेको छ । भदौ २४ र २५ गते हुने संघको ३४ औं महाधिवेशनमा चुनाव लड्न २ टिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पवन प्रजापति टिम घोषणा गरी चुनावमा होमिदा उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले पनि बिहीबार टिम घोषणा गरेका छन् ।

पोखरेलले वरिष्ठ उपाध्यमा हरिहर सापकोटा, वाणिज्यतर्फको उपाध्यक्षमा मुना बास्तोला र उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसीलाई उमेद्वार बनाएका छन् । त्यस्तै महासचिवमा केशब बहादुर खत्री, उपमहासचिवमा हर्क बहादुर अधिकारी र कोषाध्यक्षमा हरिराज पन्त पोखरेल टिमबाट उमेद्वार बनेका छन् ।

पोखरेलको प्यानलबाट सदस्यहरुको पनि उमेद्वारी घोषणा भएको छ । कार्यसमिति सदस्यमा भरत केसी, धर्मेन्द्र बाटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण प्रसाद कोइराला, हिमनिधि लौडारी र महेन्द्र पौडेल छन् । यसअघिका महाधिवेशनमा एउटै टिमबाट चुनाव लडेका प्रजापति र पोखरेल आगामी महाधिवेशनमा आमनेसामने भएका छन् ।

Advertisement

पोखरेलले बिहीबार टिमको घोषणा गर्दै पुराना र अनुभविलाई नसमेट्दा टिम बनाएर जानु परेको बताए । ‘मैले पहिला त म एक्लै चुनाव लड्छु टिम नबनाई भन्ने खालको कुराहरु गरेको थिए,’ उनले भने, ‘तर पछि के भयो भने पोखरा उद्योग वाणिज्य संघ हाक्न सक्ने अनुभवी, खारिएका साथीहरु उताको टिमबाट बाहिरिए नयाँ साथिहरु परेपछि अनुभवी साथीहरु आएर हाम्रो लिडरसिप लिईदिनु प¥यो भनेर आग्रह गर्नुभयो र टिम बनाएर चुनाव लड्ने निर्णय गरे ।’

संघलाई बलियो, एकाकार र सक्षम नेतृत्व दिनका लागि मेरो टिम चुनावमा होमिएको पोखरेलले बताए । चुनावलाई एउटा प्रकृयाको रूपमा लिएको र संघमा लागेदेखि अहिलेसम्म पराजय भोग्नु नपरेको स्मरण गर्दै प्रतिष्पर्धाबाट कत्ति पनि नडराएको उनको भनाई छ । ‘हामी पहिले एउटै थियौं तर अहिले पवन दाइको अलग प्यानल छ र मेरो अलग छ । चार चार कार्यकाल सेवा गरिरहेका साथीहरू बाहिर रहेका छन् । उनीहरूलाई मैले समेटेको छु,’ उनले भने ।

Advertisement

मलाई हटाइ नयाँ साथीहरुलाई समेट्न खोज्दा चुनाव लड्ने अवस्था आएको पोखरेलले बताए । ‘मैले उहाँलाई अगाडी बढाएर जाने भन्ने कुरा हो,’ उनले भने, ‘उहाँले चाँहि मलाई नसमेटि भर्खरै आएका नयाँ साथीहरुलाई समेट्न खोजिसकेपछि म चुनावमा लड्न बाध्य हुनुपरेको हो ।’ अहिलेको टिम संघ हाँक्नका लागि सक्षम टिमको भएको पोखरेलले दाबी गरे । ‘म एकैपटक नेतृत्व खोज्न आएको पनि होईन । सदस्य हुँदै क्रमशः उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकालले परिपक्व बनाएको छ ।

संघलाई हाँक्नका लागि सक्षम उम्मेदवारहरूको टिम पनि बनाएका छौंं,’ पोखरेलले भने । यसअघि घोषणा गरेको प्रजापतिको टिममा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हीरामणि पण्डित र वाणिज्य तर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य छन् । उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला छन् ।

तपाईको प्रतिक्रिया