पत्रकार महासंघ कास्कीमा तीज

समाधान संवाददाता २०७९ भदौ १० गते ११:२७

पोखरा l
नेपाल पत्रकार महासंघ कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले बुधबार हरितालिका तीजको अवसरमा कास्कीमा क्रियाशील पत्रकार महिलाबीच शुभकामना आदानप्रदान गर्दै दर खुवाएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले सञ्चार क्षेत्रमा महिलाको सहभागिता भएपछि महिलाको मुद्दाबाहिर ल्याउन सहज हुने बताइन् ।

सरकारले महिलाका लागि कोटा निर्धारण गरे पनि भने जति अझै सहभागिता नरहेकाले महिला पत्रकारलाई यस्ता विषयमा कलम चलाउन सुझाव दिइन् । स्वास्थ्य क्षेत्रमा महिलापछि परेका कारण प्रदेश सरकारले महिलाको स्वास्थ्य सुरक्षाका लागि विविध कार्यक्रम ल्याएको उनको भनाइ थियो । प्रदेशले पाठेघरको क्यान्सर भएकालाई निशुल्क उपचारदेखि सहिद, अपांग र बेपत्ताका परिवारलाई निशुल्क उपचारको प्रबन्ध मिलाएको उनले जानकारी दिइन् ।

पत्रकारका लागि कोरोना विरुद्धको खोप र स्वास्थ्य बिमाका लागि मन्त्रालयको समन्वयमा गरेको उनको भनाइ छ । पत्रकार महासंघ कास्की कार्यावाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले महासंघले संस्कार र संस्कृति जगेर्ना गर्दै विभिन्न कार्यक्रम गर्दै आएकाले नारीहरुको शक्तिको प्रतीकका रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।

Advertisement

कार्यक्रम संयोजक तथा संघकी उपाध्यक्ष जमुना वर्षा शर्माले चाडपर्वको अवसरमा बाँडिएको शुभकामनाले सबै दिदीबहिनीमा कलम चलाउने आँट, साहस बटुल्न आग्रह गरिन् । सञ्चार क्षेत्रमा भएको दमन र सामाजिक हिंसाविरुद्ध सधैं डटेर लाग्न उनको सुझाव छ । प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले महिला पत्रकार अझै मिडिया क्षेत्रमा खुलेर लाग्न नसकेको बताइन् । आफ्नो हक अधिकारका लागि पनि महिला यस क्षेत्रमा लाग्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा, सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ठ लगायतले शुभकामना दिए ।

Advertisement

तपाईको प्रतिक्रिया